NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

११ उपमहागरपालिकामा चुनावी परिणाम : कसले कति मत प्राप्त गरे ?

काठमाडौं । वैशाख ३० मा भएको निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म ७५३ मध्ये ४९५ स्थानको मतगणा सकिएको छ ।

अहिलेसम्म कांग्रेस ६७ प्रमुख, १४७ अध्यक्षसहित पहिलो दल भएको छ । दोस्रो स्थानमा रहेको एमालेले ३८ प्रमुख, ९८ अध्यक्ष जितेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १४ प्रमुख र ८० अध्यक्ष जितेको छ ।

६ महानगरतर्फ काठमाडौं बाहेक ५ महानगरमा गठबन्धन अगाडि छ । त्यस्तै ११ उपमहागरमा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता लिएको छ ।

यस्तो छ ११ उपमहानगरपालिकामा मतपरिणामः

धनगढी– धनगढी उपमहानगरपालिकामा सत्तागठबन्धन र एमालेलाई निरन्तर पछाडि पार्दै स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता बढाउँदै लगेका छन् । हमालले ११ हजार ३१२ प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नृपबहादुर वडले जम्मा ५ हजार ४९० मत पाएका छन् । तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार रणबहादुर चन्दले जम्मा २ हजार ५६६ मत पाएका छन् ।

हेटौंडा– हेटौंडामा एकीकृत समाजवादीका उम्मेदवार मीना कुमारी लामाले अग्रता लिएकी छन् । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले कडा टक्कर दिइरहेका लामाको मतान्तर ६४७ रहेको छ । गत निर्वाचनमा एमालेले जितेको हेटौंडामा अहिले तेस्रो स्थानमा रहेको छ । एमालेबाट मेयरका उम्मेदवार रहेका आनन्द पौडेल ११ हजार ५२४ मतसहित तेस्रो स्थानमा छन् ।

नेपालगञ्ज– गत निर्वाचनमा राप्रपाले जितेको नेपालगञ्जमा योपटक नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार प्रशान्त बिष्ट १४ हजार ४९८ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेलेका पशुपती दयाल मिश्रले जम्मा ७ हजार ३१६ मत पाएका छन् । राप्रपा ५ हजार ४१२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

धरान– पूर्वको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । स्वतन्त्र उम्मेदवार हर्कराज राईले ८ हजार १४० मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले ८ हजार १२६ मत पाएका छ । हर्कको मतान्तर जम्मा १४ रहेको छ । एमालेका मञ्जु भण्डारी सुवेदी ६ हजार ७१३ मतसहित तेस्रो स्थानमा छन् ।

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । उम्मेदवार निधनका कारण वैशाख ३० मा स्थगित भएको निर्वाचन मंगलबार सम्पन्न भएको थियो । बुधबारबाट सुरू भएको मतगणनामा एमालेका उम्मेदवार टीकाराम खड्काले ८५० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी गेहेन्द्र गिरीले ८२६ मत पाएका छन् । राप्रपाका जगधनी चौधरीले जम्मा १७ मत पाएका छन् ।

घोराही– घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार नरुलाल चौधरीले ३२ हजार ३१२ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पौडलेले २६ हजार १८२ मत पाएका छन् । राप्रपाका सरिता देवकोटा ४ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् ।

कलैया– बाराको कलैया उपमहानगरपालिकामा एमालेका उम्मेदवार विनोदप्रसाद साहले १३ हजार ३२१ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेशराय यादवले ८ हजार ६५९ मत प्राप्त गरेका छन् । तेस्रोमा लोसपाका जयप्रकाश तेलीले ४२१ मत प्राप्त गरेका छन् ।

बुटवल– कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले १५ हजार ५८९ मतससहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १० हजार ५७६ मत प्राप्त गरेका छन् । तेस्रोमा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार २८५ मत पाएका छन् ।

जितपुर सिमरा– वाराको जितपुर सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले अग्रता कायमै छ । उनले १८ हजार २३४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सरस्वती चौधरीले १६ हजार ६९० मत प्राप्त गरेका छन् । लोसपाले ५ हजार ९२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

जनकपुरधाम– जसपाका उम्मेदवार मनोकुमार साह सुडीले ४ हजार ४६६ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवशंकर साहले ३ हजार २३ मत पाएका छन् । लोसपाका मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् ।

इटहरी– कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले १४ हजार ३३६ मतसहित पहिलो स्थानमा रहेका छन् । दोस्रोमा एमालेका यामकुमार चुङ्गावाङ सुब्बाले १२ हजार ३१३ मत पाएका छन् । तेस्रोमा राप्रपाका आकाशहाङ लिम्बुले १३८४ मत पाएका छन् ।