NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

पर्साका पाँच स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

पर्सा । पर्साका पाँच स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा दलहरूले मिश्रित परिणाम निकालेका छन् ।

बहुदरमाई नगरपालिकाको नगर प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह तेली निर्वाचित भएका छन् । तेलीले छ हजार चार मत पाउनुभएको छ भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित भएकी छन् । छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गरेकी छन् ।

पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी भएका छन् । चौहानले पाँच हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुविकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी बने । उनका निकटतम प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत प्राप्त गरिन् ।

विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बनेका छन् ।

तिवारीले चार हजार १४१ मत ल्याएर विजयी प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया तीन हजार ४६८ मत हासिल गरे ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी भएका छन् । चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बनिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गरिन् ।

पकहामैनपुर गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित भएका छन् । मेहताले चार हजार ६८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित भएकी छन् । निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गरिन् ।
जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भएकी छन् । चौधरीले चार हजार ५६० मत गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रित महतोले तीन हजार २९९ मत प्राप्त गरिन् ।

त्यसैगरी, उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बनेकी छन् । चौधरीले चार हजार ७१० मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गरिन् ।

ताजा अपडेट

नेपालवाच विशेष