NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीकी प्रभा बोगटी विजयी

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुख (उपमेयर)मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार प्रभा बोगटी विजयी भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा श्रेष्ठले १५ हजार ८२६ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत ल्याए।

नगरउपप्रमुखमा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित भइन् । बोगटी माओवादीका स्व. नेता पोष्टबहादुर बोगटीकी छोरी हुन् । उनले १२ हजार ८६० मत ल्याइन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अम्बिका पौडेलले ११ हजार ९९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । नगरप्रमुखमा विजयी भएका श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य सङ्घको जिल्ला अध्यक्ष हुँदै, उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यको अहिले दोस्रो कार्यकालको जिम्मेवारीमा रहँदै गर्दा राजनीतिमा प्रवेश गरेका थिए ।

तेह्र वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं. ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं ५ लिलानाथ न्यौपाने, वडा नं ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रवीन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं १० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा नं १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् ।