भरतपुरमा ५ हजारले अघि लागिन् रेनु, के विजय पराजयतर्फ अघि बढेकै हुन् ?

काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर थप बलियो बनाएकी छिन् । मेयरमा रेनुले ५०१५ मतको अग्रता बनाएकी हुन् । अहिलेसम्म भरतपुरमा ६९६१५ मतगणना भएको छ । जसमा दाहालले २७०८० मत पाएकी छन्। एमालेका सुवेदीले २२०६५ ल्याएका छन् ।
कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले ९ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हेमला गुरुङसँगको अग्रतालाई १२ हजारमाथि पुर्याएका छन् ।
मतगणनाका सुरुवाती चरणमा विजय र रेनुबीच एक अर्कालाई उछिन्ने होडबाजी चलेको थियो । तर पछिल्ला केही दिनयता रेनुले मतगणनामा विजयलाई १ हजार, दुई हजार हुँदै पाँच हजारसम्मको अग्रता बनाएकी हुन् ।
भरतपुरमा १३ वटा वडामा मतगणना सकिएको छ । अब १६ वटा वडाको मतगणना गर्न बाँकी छ । यस्तोमा विजयलाई अब जितसम्म पुग्न निक्कै भोट आउनुपर्नेछ । आफ्नो प्रभाव रहेका वडामा पनि भोट बटुल्न नसकेदेखि नै विजय रेनुसँग पछाडि पर्दै आएका थिए । यो क्रम अझै जारी छ ।
कांग्रेससँग असन्तुष्ट भएर जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुको बेफाइदा अन्ततः एमालेलाई हुन पुगेको छ । उनको बागी उम्मेदवारी नपरेको भए कांग्रेस र माओवादीसँग असन्तुष्ट हुने भोट एमालेलाई खस्ने थिया । तर माओवादी र कांग्रेसभित्रको असन्तुष्टिको भोट स्वतन्त्रका जगन्नाथको भुइँकटहरमा खसेपछि एमालेलाई भरतपुरमा थप संकट देखिएको हो ।
प्रतिक्रिया