सप्तरी छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय चौधरी निर्वाचित
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए ।
सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए ।
लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याए ।
एमालेकी ललितादेवी मेहताले एक हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान एक हजार ३८४ मत ल्याइन् । मण्डल गत स्थानीय तह २०७४ को स्थानीय तहको निर्वाचनमा एक हजार ७१० मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएका थिए ।
कूल १७ हजार ७५७ मत रहेको छिन्नमस्तामा १३ हजार ७४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई-दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक-एक वडाध्यक्षमा जित हासिल गरेको छ ।
वडा नं १ बाट ६८३ मत ल्याएर माओवादी केन्द्रका ललनप्रसाद यादव, २ बाट ३४० मत ल्याएर जनमतका सिकेन्द्रकुमार साह, ३ बाट ८९२ मत ल्याएर जसपाका विजयकुमार यादव, ४ बाट ३९९ मत ल्याएर एकीकृत समाजवादीका सूर्यनारायण यादव, ५ बाट ७२८ मत ल्याएर एमालेका जयप्रकाश ठाकुर, ६ बाट २९४ मत ल्याएर माओवादीका कपिलेश्वर साह, ७ बाट ७१४ मत ल्याएर एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।
जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले सर्वाधिक पाँच नगरप्रमुखमा जित हासिल गरेको छ । यसैगरी जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई-दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक-एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।
बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । रुपनीमा जसपा र डाक्नेश्वरीमा कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया