NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले–कांग्रेसको वर्चश्व तोड्दै हर्क साम्पाङले धरानलाई यसरी दिलाए लौरोको सहारा !

काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर चुनाव लडेका बालेन शाहले भारी अग्रता लिइरहेका बेला सुनसरीको धरानमा पनि यस्तै नतिजा आएको छ ।

धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार ४० वर्षीय हर्क साम्पाङले अप्रत्यासित रुपमा जित हात पारेका छन्, त्यो पनि ४७६२ मतको भारी अन्तरले ।

एमाले, कांग्रेसजस्ता ठूला दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारले जितेपछि अहिले त्यसले देशभर तरंग पैदा गरेको छ ।

साम्पाङले कांग्रेसका किशोर राई र एमालेकी मञ्जु भण्डारी सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् ।

बोर्डिङ स्कुलको प्राइमरी शिक्षकदेखि कविसम्म

साम्पाङको घर धरान नगरपालिकास्थित बुद्धचौकमा पर्छ । उनी गीतकार तथा कवि हुन् । समाजशास्त्रमा स्नातक गरेका उनले केही समय बोर्डिङ स्कुलको प्राथमिक स्तरमा अध्यापनसमेत गराए ।

नजिकै देशकै ठूलो कोशी नदी र पहाडको छेउको सहर भए पनि धरानमा खानेपानीको समस्या छ । पूर्वकै एक ठूलो सहरमा यसरी पानीको समस्या निरन्तर भइरहेपछि साम्पाङले ठूला दलबाट विजयी मेयरहरूले यसको समाधान दिन नसकेको निष्कर्ष निकाल्दै समस्या समाधान लागि संघर्ष समिति बनाएर अगाडि बढे । त्यतिले मात्र नपुगेर नेतृत्व गरेरै अघि बढ्ने प्रणसहित उनी ०७६ को उपनिर्वाचनमा मेयरमा उठे ।

त्यसमा जनताको खासै साथ भएन । उनले जम्मा ४२२ मतमात्र ल्याए । तर पनि उनको यात्रा रोकिएन । उनीसँगै संघर्षमा होमिएका कतिपयले सत्ता पक्षसँग लेनदेन गरेर खानेपानीका मुद्दा छोडे । तर उनले निरन्तर मुद्दा उठाइरहे । सडकमा गएर एक्लै चिच्याए । लामो समयको प्रयासपछि यसैलाई धराने जनताले साथ दिन थाले ।

उनीनिकट स्रोतका अनुसार साम्पाङले आफूले मेयरमा जितेमा खानेपानी समस्या समाधान गर्ने प्रण गरेर टिकट दिन ठूला पार्टीहरूसँग आग्रहसमेत गरे । तर, ठूला पार्टी भन्नेहरूले उनलाई बेवास्ता गरे ।

त्यसपछि साम्पाङले स्वतन्त्र उम्मेदवार बनेर जित्ने प्रण गरे । जनतासँग आफ्नो कुरा राखे । उनीहरूलाई बुझाउन सके । अहिले तिनै जनताले उनलाई मेयरको कुर्सीसम्म पुर्याएका छन् ।

धरान खासमा एमालेको गढ भएको क्षेत्र हो । गत निर्वाचनमा तारा सुब्बा एमालेबाट निर्वाचित भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा एमालेको किल्ला तोड्दै कांग्रेसका तिलक राई विजयी भए । यद्यपि, उनले पनि खानेपानी समस्याको समाधान दिन सकेनन् ।

एमालेपछि कांग्रेसको भएको धरानको विरासत फेरि स्वतन्त्र उम्मेदवारले तोडेका छन् । नवनिर्वाचित मेयर साम्पाङले भने धरानमा खानेपानीको समस्या समाधान गर्ने वाचा गरेका छन् । त्यसमा जनताले पनि साथ दिने देखिन्छ ।

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी – NepalWatch