NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विजय र्‍यालीमा सहभागी हुन गाउँपालिका अध्यक्षले दिए सार्वजनिक बिदा

काठमाडौं । आफ्नो जितमा विजय उत्सव मनाउन सप्तरीको एक गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले सार्वजनिक बिदा दिने निर्णय गराएका छन् । सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गराएका हुन् ।

रूपनीका प्रमुख प्रशासकीश अधिकृत अरविन्द कुमार चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघ–संस्था, शिक्षण संस्था र स्वास्थ्यलगायत सम्पूर्ण कार्यालयहरूमा आज सोमबार बिदा दिएको जनाएका छन् ।

गाउँपालिकाको निर्णयपछि आज त्यसको क्षेत्राधिकारभित्रका सबै सरकारी कार्यालय बन्द भएका छन् ।

स्थानीय तहमा सार्वजनिक बिदा दिन पाउने अधिकारको दुरूपयोग हुँदै आएका छन् । कतिसम्म भने स्थानीय तहले संघका प्रधानमन्त्री, मन्त्री, शीर्ष नेतालगायत जाँदा पनि बिदा दिने गरेका छन् ।