झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित

झापा । जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी छन् । महतरा नेकपा (एमाले) बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।
झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका हुन् । एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।
अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भएका छन् ।
यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बनिन् भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी भइन् ।
बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बनेकी थिइन् । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित भएकी थिइन्। झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित भएकी थिइन् । कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया