धरानदेखि धनगढीसम्म उदाए ‘बालेन’हरू

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार अनुमोदित भएका छन् । दलका उम्मेदवारलाई पराजित गरेर १३ जनाले त पालिका प्रमुखको नेतृत्व लिएका छन् ।
स्वतन्त्र जनप्रतिनिधिमध्ये चार जना उपप्रमुख,उपाध्यक्ष, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्य छन् ।
उनीहरूमध्ये केही कहिल्यै दलमा आबद्ध नभएका छन् भने केही दलबाट टिकट नपाएपछि बागी बनेका हुन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर वालेन्द्र (बालेन) साहले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीका उम्मेदवारलाई ठूलो मतान्तरले पछाडि पारेका छन् । उनको विजयको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।
११ उपमहानगरपालिकामध्ये धरानमा हर्कराज राई, जनकपुरधाममा मनोजकुमार साह र धनगढीमा गोपाल हमाल स्वतन्त्रबाट विजयी भएका छन् । जनकपुरका साह भने कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवार बनेका हुन् ।
धरानका राई खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा उत्रिएका थिए । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरेका हुन् । हर्कले २० हजार ८ सय २१ मत पाउँदा किशोरले १६ हजार ५९ पाए ।
त्यस्तै एमालेकी मन्जु भण्डारी १२ हजार ८ सय २५ मतमा सीमित भइन् ।
धनगढीमा हमालले पूर्वमेयर कांग्रेसका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका वडको पक्षमा १४ हजार ८ सय १७ मत खसेको थियो ।
जनकपुरधाममा सत्ता गठबन्धनले राजपाका लालकिशोर साहलाई अघि सारेपछि कांग्रेसका उपमहानगर सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जित्नेको संख्या अहिलेभन्दा कम थियो । त्यतिबेला नगरप्रमुखमा २, गाउँपालिका अध्यक्षमा ४, उपाध्यक्षमा ५, वडाध्यक्षमा ९१ र वडा सदस्य १ सय ३१ गरी २ सय ३३ जना स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । अहिलेजस्तो ठूला र सहरी क्षेत्रका पालिकामा स्वतन्त्र उम्मेदवारले जितेका थिएनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया