स्थापितले भने– हारलाई सामान्य रूपमा लिएको छु, बालेनलाई बधाई
काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट मेयर उम्मेदवार बनेका केशव स्थापितले आफ्नो हारलाई सामान्य रूपमा लिएको प्रतिक्रिया दिएका छन् । साथै उनले बालेन्द्र साह (वालेन) लगायत काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसमेत दिएका छन् ।
शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै स्थापितले पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकाले अहिलेको हार जितलाई सामान्य रूपमा लिएको उल्लेख गरेका छन् ।
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ,’ स्थापितले भनेका छन्, ‘त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको छु ।’
निर्वाचन परिणामले जनताको सेवक भएर काम गर्ने आकांक्षा पूरा हुन नसके पनि काठमाडौं महानगरपालिकाको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको स्थापितले जनाएका छन् ।
स्थापितले मेयरमा निर्वाचित साहलगायत नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिँदै पक्ष र विपक्षमा मतदान गर्ने मतदाताको भरोसालाई सम्मान गर्ने अपेक्षा गरेका छन् ।
काठमाडौँको विकास र समृद्धिमा बालेनले सकारात्मक कदममा रचनात्मक सहयोग गर्ने र कमजोरीमा खबरदारी गर्ने पनि उनले बताएका छन् ।
स्थापितले आफ्नो पक्षमा मतदान गर्ने मतदाता, सुरक्षाकर्मीलगायतलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया