NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जेठ १४ गते राति १२ बजे म मन्त्री निवासमा थिएँ : जनार्दन शर्मा

‘देश र जनताको पक्षमा काम गर्दा के को संसदीय छानबिन ?’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् ।

‘देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरेँ भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्धतीलाई अक्षरशः कार्यान्वयन गरिएको छ । यस विषयलाई राजनीतिक एजेण्डा बनाउनु गलत छ । केही उपाय नपाएपछि मलाई देखाएर समग्र सरकार र गठबन्धनमाथि प्रहार गर्न खोजिएको हो,’ अर्थमन्त्रीले भने ।

उनले अर्थतन्त्रको समग्र उन्नयनलाई केन्द्रमा राखेर काम गर्दा अपराध ठानिन्छ भने त्यसलाई आफूले थप टिप्पणी नगर्ने बताए ।

आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि केहीलाई छटपटी भएको उनको भनाइ छ । हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उनले गम्भीर आपत्ति जनाए ।

बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको स्पष्ट पार्दै उनले अर्थसचिव, राजश्व सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सम्बन्धित विभागका प्रमुख सम्मिलित समूहले बजेट तयार पारेको र त्यसमा नीतिगत मार्गदर्शन मात्रै आफूले गरेको अर्थमन्त्री शर्माले बताए ।

बजेट निर्माणको इतिहासमा पहिलो पटक सबै वर्ग, क्षेत्र, समूह तथा सरोकारवालाको चासो र चिन्तालाई छलफल तथा संवादका माध्यमबाट समेटिएको उल्लेख गर्दै उनले कुनै पनि बहाना नपाएपछि करको दर हेरफेर गरेको तथा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्नेजस्ता कथा बुनिएको दाबी गरे ।

‘कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइनँ, मन्त्री निवासमा थिएँ । मन्त्री निवासको सुरक्षाकर्मीसँग गएर बुझ्नुस्,’ उनले भने ।

उनले सरकार र गठबन्धनप्रति लाञ्छना लगाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्र गरिएको र सरकारलाई हिलो छ्याप्न खोजिएको टिप्पणी गरे ।

अर्थमन्त्री शर्माले देश, जनता र समस्यामा परेको अर्थतन्त्र उकास्न र त्यसलाई गति दिन इमान्दार भएर प्रयास गर्दा त्यसैलाई अपराध ठानिन्छ भने आफ्नो भन्नु केही नभएको प्रतिक्रिया दिए ।

बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति १२ बजे एक सिए र पूर्व नायब सुब्बालाई मन्त्रालयमा प्रवेश गराएर उनीहरूले भनेअनुसार करको दर हेरफेर गर्न अर्थका दुई सचिव र दुई सहसचिवलाई निर्देशन दिएको समाचार प्रकाशमा आएपछि अर्थमन्त्री शर्मा चौतर्फी आलोचित भइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसबारे छानबिन गर्न माग गरेको छ ।

मङ्गलबार पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूचीमा अर्थमन्त्रालय समावेश थियो । एमालेले विरोध गरेपछि मङ्गलबार पनि अर्थमन्त्रीले संसद्मा जवाफ दिन पाएनन् । बुधबार पनि अर्थ मन्त्रालयको जवाफ दिने विषय कार्यसूचीमा नै परेन । एमालेले संसदीय छानबिन समिति वा राजीनामा नदिँदासम्म अर्थमन्त्रीलाई जवाफ दिन नदिने जिकिर गरिरहेको छ ।

‘देश र जनताको पक्षमा काम गर्दा संसदीय छानबिन ? मान मर्दन ? मैले के अपराध गरेको छु । देश र जनताको पक्षमा काम गर्नु अपराध हो ? सवाल रह्यो, अनाधिकृत व्यक्तिको ? त्यसदिन मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्ति आएका छैनन् र आउने हिम्मत पनि गर्दैनन्,’ अर्थमन्त्रीले भने ।

मन्त्रालयमा को–को मानिस आउँछन्, त्यसको सबै जानकारी आफूलाई नहुने भन्दै उनले बजेटमा विरोध गर्ने कुनै पनि उपाय नपाएपछि राजनीति गर्ने अभिप्रायका साथ विरोधका लागि विरोध गरिएको स्पष्ट जिकिर गरे । ।

कथा पटकथा बनाएर सरकार र गठबन्धनविरुद्ध निशाना साँधिएको र त्यसमा अर्थमन्त्रीलाई प्रहार गर्दा सफलता हासिल गर्न सकिन्छ भन्ने गलत उद्देश्य राखिएको उनको भनाइ छ । अर्थमन्त्रीले अर्थ मन्त्रालयले समग्र दृष्टिकोणका साथ अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि दत्तचित्त भएर लागिपरेको बताए ।
उनले शेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई स्पष्ट निर्देशन गरेको र त्यसअनुसार काम भइरहेको पनि बताए । अर्थतन्त्र श्रीलङ्काको बाटोमा भन्दै गरिएको प्रचारप्रति समेत उनले असन्तुष्टि जनाए ।