NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राम्रो बजेट ल्याएपछि दलालहरूले भ्रम छरे : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताएका छन् । पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्व सल्बलाएर हुनेरनहुने आरोप लगाए ।

अध्यक्ष दाहालले माओवादीमाथि अनेकन आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीबिना मुलुकको विकाससमेत सम्भव नभएको बताए । उनले भने, “हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ । यसबाट प्रतिक्रियावादी, बुर्जुवा र दलालहरू अत्तालिएका छन् । हामीमाथि भए÷नभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ । त्यसको भण्डाफोर गर्नु आवश्यक छ ।”

अध्यक्ष दाहालले माओवादीलाई आरोपित गर्ने प्रयास भएपछि त्यसको छानबिन समिति बनेको र समितिले कुनै त्रुटि भएको छैन भन्ने प्रतिवेदन बुझाइसकेकोसमेत उल्लेख गरे । आगामी तीन महिना माओवादीका लागि अझै चुनौतीपूर्ण रहेको भन्दै उनले सङ्घीय र प्रदेशसभाको निर्वाचनमा श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गराउन र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन पनि माओवादीकै कारण सम्भव भएको जानकारी दिए । आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको भन्दै उनले देशको राजनीतिक, सामाजिक एवं आर्थिक विकासका लागि हरतरहले नेतृत्व गर्न सक्ने तागत माओवादीसँग मात्रै रहेको स्पष्ट पारे ।