NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सुदूरपश्चिम सरकार ढाल्न कांग्रेसको च्याँखे दाउ

काठमाडौं । सत्ता पक्षबाट नै असहयोगकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिन लागेका छन् ।

दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधान बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यतामा रहेका सिंहलाई सत्तरूढ दल नागरिक उन्मुक्ति पार्टीले चुनौती दिएका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूका मागलाई सरकारले सम्बोधन नगरेकाले समर्थन गर्न नसकिने बताएकी छिन् ।

नउपाको मागले मुख्यमन्त्री सिंह अहिले निकै अप्ठेराेमा परेका छन् । ‘हाम्रो माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो । तर विपक्षी कांग्रेसले यसको फाइदा उठाउँदै च्याँखे दाउ थापेको हामीलाई सूचना आएको छ । आफैले बनाएको सरकार ढाल्ने हाम्रो मनासाय होइन । यस विषयमा अहिले वार्ता भइरहेको छ’, नेपालवाचसँग उनले भनिन् ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत चाहिन्छ। तीमध्ये प्रदेश सभामा कांग्रेसको १८, माओवादी केन्द्रको ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीको ४, राप्रपा र स्वतन्त्रका एक/एक सांसद छन् । सत्तापक्षसँग २९ सिट रहेकोमा नाउपाले सरकारलाई विश्वासको मत नदिए संविधान बमोजिम मुख्यमन्त्री स्वतः पदमुक्त हुनेछन् ।

त्यसैले मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि विपक्षी कांग्रेस वा नाउपाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री सिंहलाई विद्रोही शक्ति नेकपा एसले पनि विश्वासको मत नदिने बताइसकेकाले सरकार धरापमा परेको छ ।