NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

संसद् बैठक बस्दै, बजेटबारे उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदैछन् ।

यही जेठ १५ मा अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएकोमा आइतबार सकिएको छ । यसक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा अर्थमन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट कार्यान्वयनका लागि सांसदबीच छलफल चलाएर बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस पटक बजेटमाथि चलाइएको छलफलमा प्रतिपक्ष दलका सांसदले मात्र नभएर सत्तापक्षका सांसदले पनि चर्को असन्तुष्टि जनाएका छन् । पहुँचका आधारमा अव्यवहारिक ढंगले बजेट विनियोजन गरिएको, अनधिकृत ढंगले करका दर हेरफेर गरिएको, अर्थतन्त्रले सामना गरेको समस्या सम्बोधनलाई बेवास्ता गरिएकोलगायत आरोप सांसदहरूले लगाएका छन् । सत्तारूढ एकीकृत समाजवादी पार्टीले त सरकारबाट बाहिरिनु परे पनि यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी दिएको छ ।