NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अमेरिकी संसदमा दोस्रो पटक नेपाल मामिला हेर्ने सांसदहरूको समूह बन्दै

काठमाडौं ।अमेरिकी कंग्रेस (संसद्)मा नेपाल मामिलासम्बन्धी हेर्ने सांसदहरूको समूह (ककस) दोस्रोपटक गठन हुने भएको छ । १२ वर्षअघि गठन भएजस्तै यस वर्ष पनि २० सांसदको सहभागितामा यस्तो समूह बन्न लागेको हो ।

नेपाली राजदूत श्रीधर खत्रीको प्रयासमा ककस गठनका लागि हालसम्म १३ जना सांसद तयार भएका छन् । त्यसमा सातजना सांसद थपेर ककस गठन गरिने अन्तिम तयारी छ । दुई देशबीच सम्बन्ध विस्तारका लागि अमेरिकी सांसदहरूको उक्त फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजदूत खत्रीले बताए ।

नेपाली राजदूत खत्रीले ककस गठनका लागि अन्तिम तयारी भएको जानकारी दिए । ‘अहिलेसम्म १३ जना सांसदहरू तयार हुनुहुन्छ । २० जनाजति पुर्‍याएर ककस गठन गरौँ भन्ने प्रस्ताव छ । सम्भवतः छिटै यो कार्यले पूर्णता पाउनेछ,’ राजदूत खत्रीले नयाँ पत्रिकासँग भने, ‘ककस गठनपछि अमेरिकी कंग्रेसमा नेपालसम्बन्धी मुद्दामा छलफल गराउन प्रयास गर्न सकिन्छ । यति मात्र नभएर अमेरिकी सरकार र संसद्लाई नेपालको चासो पुर्‍याउन पनि मौका मिल्नेछ । यो दुईपक्षीय साझा चासो र लक्ष्यमा काम गर्ने सांसदहरूको महत्वपूर्ण फोरम हुनेछ ।’

ककस गठनको प्रयासका लागि राजदूत खत्रीले अमेरिकी उच्च अधिकारीसँग निरन्तर छलफल गर्दै आएका थिए । ककसमा अमेरिकी संसद्का सत्तारूढ र विपक्षी पार्टीका करिब २० सांसद सहभागी हुनेछन् । सत्तारूढ पार्टीका सांसद संयोजक हुनेछन् भने विपक्षी पार्टीका सांसद सहसंयोजक हुनेछन् ।

राजदूत खत्रीले यही साता सांसद (कंग्रेसम्यान) डेबोर रोससँग क्यापिटल हिल (संसद्)मा भेटेर ककस गठनलगायत दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए । यसअघि सन् २०११ मार्चमा अमेरिकी कंग्रेसमा पहिलोपटक ककस गठन भएको थियो । रिपब्लिकन पार्टीका सांसद एन्डर क्रिन्स संयोजक र डेमोक्रेटिक पार्टीका सांसद जरेड पोलिस सहसंयोजक थिए ।

तत्कालीन नेपाली राजदूत (हाल भारतका लागि राजदूत) डा. शंकरप्रसाद शर्माको पहलमा त्यसवेला ककस स्थापना भएको थियो । ‘ककसले नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विभिन्न क्षेत्रमा छलफल गर्ने र अमेरिकाको संसद् र सरकारलाई नेपालसम्बन्धी विषयमा सल्लाह सुझाब दिने हुनाले यो महत्वपूर्ण छ,’ एक कूटनीतिक अधिकारीले टिप्पणी गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।