अर्थतन्त्रलाई सन्तुलित राख्न राष्ट्र बैंकले उचित निर्णय लिन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पारे ।
पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उनले बताए ।
‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष रू एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ’, गभर्नर अधिकारीले भने ।
अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।
अहिले बैंकिङ प्रणालीमा रू ८८ अर्ब ५४ करोड अधिक तरलता रहेको उनले बताए। उनका अनुसार गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।
गभर्नर अधिकारीले हाल चालु खाता घाटा रू ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए। अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उनको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया