NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संसदमा कुन दलका सांसदको कस्तो उपस्थिति ?

काठमाडौं । बर्खे अधिवेशनको १८० दिनमा ६२ दिन मात्रै प्रतिनिधिसभाको बैठक बस्यो । जसमा कांग्रेसका ८८ सांसदमध्ये ४० मात्रै (४५%) ५० दिन (८०% समय) भन्दा बढी उपस्थित भए ।

त्यस्तै, आधाभन्दा बढी समय उपस्थित हुने ७२ र आधाभन्दा कम समय बैठकमा जाने १६ सांसद छन् । ७९ सांसद रहेका एमालेका भने ४९ सांसद (६२%) ५० दिनभन्दा बढी उपस्थित रहे । दुई निलम्बितबाहेक सबै सांसदको ५० प्रतिशतभन्दा बढी नै उपस्थिति छ । त्यस्तै, माओवादीका ३२ मध्ये २२ (६८%) सांसद ५० दिनभन्दा बढी सदनमा उपस्थित छन् । ५० प्रतिशतभन्दा बढी दिन उपस्थित हुने २८ सांसद छन् । त्यस्तै, रास्वपाका २१ मध्ये १४ (६६%) सांसद ८० प्रतिशतभन्दा बढी समय उपस्थित रहे भने बाँकी सबैको उपस्थिति ५० प्रतिशतभन्दा माथि नै छ । राप्रपाका १४ मध्ये १० (७१%) जना ८० प्रतिशतभन्दा बढी र बाँकी चारजना पनि ५० प्रतिशतभन्दा बढी उपस्थित भए ।

त्यस्तै, जसपाका १२ मध्ये ६ (५०%) को ८० प्रतिशत उपस्थिति छ, बाँकी ५० प्रतिशतभन्दा बढी उपस्थित छन् । एकीकृत समाजवादीका १० सांसदमध्ये चार सांसद (४०%) को उपस्थिति ८० प्रतिशत हुँदा बाँकी ६ सांसद करिब ४० प्रतिशत समय अनुपस्थित देखिन्छन् । ६ सदस्यीय जनमतका ५ (८३%) सांसदको ८० प्रतिशत उपस्थिति हुँदा एक सांसद ४० प्रतिशतभन्दा बढी अनुपस्थित छन् । लोसपाका दुई सांसद ८० प्रतिशतमाथि उपस्थिति हुँदा एकजना ५७ प्रतिशत र अर्का एक २८ प्रतिशत समय अनुपस्थित रहे । नागरिक उन्मुक्तिका पनि दुई सांसद ८० प्रतिशत, दुईजनाको ५० प्रतिशतमाथि उपस्थिति छ । स्वतन्त्रमध्ये तीनजनाको ८० प्रतिशत, बाँकी दुईजनाको ५० प्रतिशतभन्दा माथि उपस्थिति छ ।

शीर्ष नेताको यस्तो उपस्थिति
कांग्रेस सभापति शेरबहादुर देउवा ६२ बैठकमध्ये १६ मा मात्रै उपस्थित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल २५ दिन र एमाले अध्यक्ष केपी ओली ४४ दिन उपस्थित छन् । रास्वपा सभापति रवि लामिछाने ५२, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४४, जसपा अध्यक्ष उपेन्द्र यादव ४०, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ३८, जनमत अध्यक्ष सिके राउत ३६ र लोसपा अध्यक्ष महन्थ ठाकुर ५२ दिन उपस्थित भएका छन् । डा. शेखर कोइराला र विश्वप्रकाश शर्मा ४२ दिन, आरजु राणा र गगन थापा २९ दिन, ज्ञानेन्द्र शाही ४७, जनार्दन शर्मा ४६, रमेश लेखक ४७ र पदम गिरी ४८ दिन उपस्थित भएका छन् ।

हामीले यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।