NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

हराए एसइईका ३७ हजार परीक्षार्थी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ । तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् ।

यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताए । उनले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिए । उनका अनुसार परीक्षामा मुलकभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन् ।

“यति धेरै परीक्षार्थी किन अनुपस्थित रहे भन्ने हाम्रो लागि पनि चासोको विषय बनेको छ । जिल्लागत रूपमा बुझ्ने कोसिस गरेका छौं तर यस विषयमा निष्कर्ष निकाल्न निकै कठिन देखिएको छ,” उनले भने ।

एसइईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहो–याउन चाहन्छन् । जसले गर्दा एसइईमा सहभागी हुने तथ्याङ्क घट्छ । त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउँछन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।