NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् ?

काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिको ढोका खुला गर्दै छ । सोमबार कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसरमा ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्दै छ भने लगत्तै मध्यजेठमा हुने राष्ट्रिय महिला भेलामा प्रमुख अतिथि बनाउँदै छ ।

औपचारिक निर्णय नै गरेर एमालेले त्यसको सन्देश दिइसकेको छ ।

शनिबार उद्घाटन भएर आइतबार समापन भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार हीरक महोत्सवमा राष्ट्रिय गौरव ‘गणतन्त्र गौरव’ पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने घोषणासहित राखेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै, १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय ५ वैशाखमा बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको छ ।

२९ फागुन ०७९ मा राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएकी छैनन् । उनी प्रमुख अतिथि रहने महिला भेलाको समापन भने अध्यक्ष केपी ओलीले गर्ने तय भएको छ ।

दुई कार्यकाल राष्ट्रपति भएर देशको अभिभावकत्व गरेकी भण्डारी त्यसअघि एमालेको उपाध्यक्ष र अखिल नेपाल महिला संघको अध्यक्ष थिइन् ।

समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन राष्ट्रिय महिला भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय जनवर्गीय संगठन समन्वय संयन्त्रले गरेको थियो ।

राष्ट्रिय महिला भेलाको व्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन कमिटी गठन भइसकेको छ । समितिको सचिवमा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश जनसंगठन संयोजक रचना खड्का छिन् । भेलामा सबै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला विभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ ।

पार्टीसम्बद्ध नेता–कार्यकर्ता, शुभेच्छुक र सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले पनि तत्काल पार्टी राजनीतिमा फर्किने सोच नभए पनि तत्कालीन आवश्यकताले नै सबै निर्धारण गर्ने बताएर विकल्प खुला रहेको जनाउ दिँदै आएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीनिकट एक एमाले स्थायी समिति सदस्यले पनि परिस्थितिले नै पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्ने समन्वयकारी व्यक्तिको पनि खोजी गरिरहेकाले भण्डारीलाई पार्टीको सक्रिय राजनीतितिर उन्मुख गराउन खोजेको बताए । ‘परिस्थितिले नै ढोका खोलेजस्तो देखिन्छ, किनभने पार्टीमा नेतृत्वले नचाहे पनि प्रदेश, जिल्लाका अधिवेशनहरूमा प्यानल निर्वाचन भएको छ,’ ती नेताले भने, ‘त्यसैले पार्टीलाई अर्को महाधिवेशनसम्म एक ढिक्का बनाएर लैजान र बलियो निर्णायक राष्ट्रिय पार्टी बनाउन पनि उहाँजस्तो व्यक्तित्वको भूमिकाको खोजी हुँदै गएको छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।