NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

बजेटबारे निजी क्षेत्र : को के भन्छन् ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणका आर्थिक सुधार कार्यक्रम बजेटमा आएको र यसले सकारात्मक दिशा पक्डने विश्वास व्यक्त गरे ।

‘नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम समेटिएको देखिन्छ । आर्थिक विधेयक आएपछि संस्थागत रूपमा भन्न सक्छौं । कृषि, पर्यटन, ऊर्जा, स्टार्टअप, आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको देखियो । त्यसलाई सकरात्मक रुपमा लिन सकिन्छ,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले कतिपय कुराहरू गोलमटोल रूपमा आएको र थप अध्ययन गर्नुपर्ने बताए । उधारोमा घ्यु खरिद गरेर खाने प्रवृत्ति बजेटमा देखिएको उनले टिप्पणी गरे ।

उनले भने, ‘बजेट झण्डै चालु आवको भन्दा पनि २० प्रतिशतले वृद्धि भएको छ । समग्र रुपमा चालु वर्षमा जुन राजश्व उठ्न नसकेका बेला स्रोतको सङ्कलन कसरी गर्ने भन्नेमा अझै अन्योलमा छौं । कतिपय कुराहरू आन्तरिक र बाह्य ऋणबाट लिने कुरा छ । सकेसम्म उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखिएको छ । बजेट भनेको यथार्थपरक र आर्थिक स्थायित्व दिने किसिमको हुनुपर्दछ ,’ उनले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले अहिलेको बजेटलाई सकरात्मक रूपमा लिनुपर्ने बताए । “यो अवस्थामा आएको बजेटलाई साह्रै नकारात्मक लिनु हुन्न । मुख्य कुरा कार्यान्वयन पक्ष कत्तिको प्रभावकारी हुन्छ भन्ने हो । विगत हेर्दा कार्यान्वयन पक्ष फितलो देखिएको छ ।’ बजेटको आकार अलि ठूलो भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ बजेटमा निजी क्षेत्रलाई समावेश गरिए पनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउँछिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्ष उमेशप्रसाद सिंहले बजेट अघिल्लो वर्षकै निरन्तरताका रूपमा आएको टिप्पणी गरे । ‘हामीले निजी क्षेत्रबाट ५६ वटा सुझाव दिएका छौं । तीमध्ये केही समेटिए पनि अधिकांश परेका छैनन्,’ उनले भने ।

घरेलु तथा साना उद्योगले सरकारबाट धेरै आशा गरे पनि सीमित स्रोतसाधनजस्ता बाध्यताका कारण बजेटमा सम्बोधन नगरिएको हुनसक्ने उनले बताए ।

‘सरकारको सीमित स्रोतसाधनका कारण बाध्यता पनि होला । अहिले सरकारबाट घरेलु तथा साना उद्योगीले धेरै आशा गरेका थिए । किनभने कोभिडबाट थलिएका उद्योगीलाई पुनःस्थापना गर्नुपर्ने छ । सहुलियत कर्जालाई निरन्तरता दिएको छ । नवप्रवर्तनलाई पनि प्राथमिकता दिइएको छ त्यो राम्रो पक्ष हो,’ उनले भने ।

घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले बजेटमा नयाँ कुरा नआएको बताइन् । महिला उद्यमशीलतालाई जोड दिने सरकारी घोषणा राम्रो भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘यो वर्ष राम्रो पक्ष के हो भने महिला उद्यमशीलतालाई जोड दिइएको छ । महिला उद्यमशीलताकालागि बिक्री कक्ष, प्रदर्शनी कक्षका कुरा आएको छ त्यो सकारात्मक कुरा हो । विपन्न क्षेत्रमा रहेका महिला तथा युवा महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने कुरा सकारात्मक छ । रातो किताबमा भने हेर्न बाँकी छ । कार्यन्वयको पक्षको कस्तो हुन्छ । सुझाव अनुसार समेटिएको देखिन्छ ।’

व्यापारी दीपक मल्होत्राले बजेट सरसर्ती हेर्दा नकारात्मक प्रतिक्रिया दिनुपर्ने नभएको धारणा राखे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रलाई चाप नपर्ने गरी सन्तुलित खालको बजेट ल्याइएको बताए ।