वाइडबडीको ठेक्का हात पार्न ३३ करोड बढी घुस निगमका अधिकारीलाई दिएको स्वीकारोक्ति
काठमाडौं । नेपाली मूलका बेलायती नागरिक दीपक शर्माले वाइडबडी खरिदमा भ्रष्टाचार गरेको स्वीकार गरेका छन् । दुईवटा वाइडबडी विमान खरिद प्रक्रियामा उनले नेपाल वायुसेवा निगमका अधिकारीसहित विदेशी अधिकारीलाई ३३ करोड भन्दा बढी घुस दिएर अमेरिकाको भ्रष्टाचार सम्बन्धी फरेन करप्सन प्राक्टिस (एफसिपिए) ऐनको उल्लंघन गरेको स्वीकारेका हुन् ।
अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्षसमेत रहेका शर्मा वाइडवडी खरिदका लागि आपूर्तिकर्ता थिए । वाइवडी खरिदका लागि छनौट भएको उक्त कम्पनीले पछि अन्य दुई कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो । उनले निगममा सन् २०१५ देखि २०१९ सम्म काम गरेका उच्च पदस्थ अधिकारी र विदेशी अधिकारीलाई घुस दिएर विमान खरिदको ठेक्का हात पार्न भूमिका खेलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अभियोगपत्रमा उल्लेख गरिएअनुसार शर्माले अन्य सहअभियुक्तहरुसँगको मिलेमतोमा अमेरिकालगायत आयरल्याण्ड र युएईका बैंक खाता प्रयोग गरी झुटा व्यवसायिक सम्झौता देखाएर घुस दिएका थिए ।
सन् २०१८ को मेदेखि अगस्टसम्म शर्माको कम्पनीले झुटा रसिदमार्फत २५ लाख अमेरिकी डलरभन्दा बढी रकम नेपाल एयरलाइन्सका अधिकारीहरुसम्म पुर्याउने उद्देश्यले अन्य कम्पनीमा स्थान्तरण गरेको थियो । अर्थात् निगमका अधिकारी र विदेशी अधिकारलाई ३३ करोड भन्दा बढी घुस वितरण गरेको अभियोगपत्रमा जनाइएको छ । वाइडवडी खरिद प्रकरणमा निगमका उच्चपदस्थसहित १४ कर्मचारी संलग्न रहेको पाइएको छ ।
योमात्रै नभएर शर्माले दक्षिण अफ्रिकामा पनि एएआर कर्पसँग आबद्ध कम्पनीको पक्षमा ठेक्का पार्न घुस दिएको स्वीकारेका छन् । शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा पनि हाल विशेष अदालतमा विचाराधीन छ । ०८० चैत २२ मा आयोगले वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहति ३२ जना विरुद्ध मुद्दा दायर गरेको हो । जसमा २४ जना नेपाली र ८ जना विदेशी नागरिकलाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया