NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

अन्तरजातीय विवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार

अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ । तर, व्यवहारमा ठिक उल्टो छ । सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण ज्यादती गरिएको छ, त्यो पनि गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा । विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग जारी छ ।

घुम्न मुम्बई पुगेका उनीहरूलाई प्रहरी टोली नै भारत पुगेर पक्राउ मात्रै गरेन, शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । यति मात्रै होइन, लागुऔषधदेखि मानव बेचबिखनसम्मको मुद्दामा फसाउने भन्दै धम्क्याएपछि उनले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । त्यस्तै, सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गरेका छन् । जसमा सर्वाेच्चले आइतबार रिट जारी गरी नेहालाई सत्येन्द्रकै जिम्मा लगाएको छ । मानव अधिकार आयोगले भने अनुसन्धान गरिरहेको छ ।

सत्येन्द्रसँग विवाह गरेकी नेहाका बुबा सुरेन्द्र रौनियार व्यापारी हुन् । उनको कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री रमेश लेखकसम्म पहुँच छ । सोही आधारमा गृहमन्त्रीमार्फत प्रहरी परिचालन गरी रौनियारले सत्येन्द्रलाई थुनाएर छोरीसँगको सम्बन्ध तोड्न खोजेका छन् । छुवाछुत घटनामा अनुसन्धान र कारबाही गर्ने प्रहरी आफैँ यस्तो घटनामा संलग्न भएको छ ।

यसमा गृहमन्त्रीकै निर्देशनमा प्रहरी शक्तिको चरम दुरुपयोग भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रारम्भिक छानबिनको निष्कर्ष छ । दलित समुदायका पीडित युवकको आर्थिक अवस्था पनि सामान्य भएकाले उनलाई नेहासँग छुटाउने प्रयास भएको हो । एउटै विद्यालय पढेका सत्येन्द्र र नेहा सात कक्षादेखि नै प्रेम सम्बन्धमा थिए । आठ कक्षापछि उनीहरूको विद्यालय फेरियो । स्कुल तह सकिएपछि उनीहरू फेरि प्रेम सम्बन्धमा जोडिए । युवक पढ्नलाई काठमाडौं आए । किशोरी पनि भागेर सँगै आएर बसिन् । दुवैलाई प्रहरी नै लगाएर पक्राउ गरेर छुटाइयो ।

सर्लाहीमा मात्र नभई काठमाडौंमा समेत बस्न नसक्ने भएपछि दुवै भागेर कपिलवस्तु गए । त्यहाँबाट दुवैजना गत २१ मंसिरमा मुम्बई घुम्न पुगे । किशोरीको परिवारले थाहा पाएपछि गृहमन्त्रीलाई भनेर मुम्बईमा विशेष प्रहरी टोली पठाए । गत २५ मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी र एक हवल्दार युवतीका बुबा सुरेन्द्रसँगै मुम्बई पुगे । स्रोतका अनुसार उनीहरूको खर्च सुरेन्द्रले नै व्यहोरेका थिए । त्यहाँको प्रहरीसँग समन्वय गरी किशोर–किशोरीलाई पक्राउ गरी प्लेनमार्फत नै दिल्ली ल्याइयो । दिल्लीबाट सोही दिन प्लेनमै काठमाडौं ल्याउने योजना थियो । तर, टिकट काट्ने क्रममा नेहाको नामको टिकटमा पनि बुबा सुरेन्द्रकै नाम परेपछि दिल्ली विमानस्थलमा समस्या भयो । त्यसपछि सत्येन्द्र र नेहा दुवैले आफूहरू विवाह गरेर आएको, आफूहरूलाई छुटाउनकै लागि गैरकानुनी रूपमा पक्राउ गरिएको त्यहाँका सुरक्षाकर्मीसँग बताए । त्यसपछि विमानस्थलमै हंगामा भयो । पक्राउ गर्न गएको प्रहरी टोली आफूहरू नै समस्यामा पर्न सक्ने डरले उनीहरूलाई छाडेर नेपाल आयो ।

सत्येन्द्र र नेहा सडकबाटो हुँदै कपिलवस्तु पुगे । त्यतिवेलासम्म उनीहरूको विवाहका लागि न्यूनतम २० वर्ष उमेर पनि पुगिसकेको थियो । कपिलवस्तु जिल्ला अदालतमा ३ पुसमा ‘कोर्ट म्यारिज’ गरे । विवाहपछि दुवैजना ललितपुरको टीकाथलीमा बस्दै आएका थिए । किशोरीका बुबाले फेरि प्रहरी लगाएर युवकलाई थुनाउने योजना बनाए । यसका लागि जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा बालविवाहको जाहेरी दर्ता गराए । त्यसपछि पक्राउका लागि प्रहरी टोली खटाइयो । गत १६ पुसमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवैजनालाई टीकाथलीमै पक्राउ ग¥यो । युवकलाई बालविवाह मुद्दामा सर्लाही जिल्ला अदालतमा पेस गरियो । युवतीलाई माइती पक्षको जिम्मा लगाइयो । जबकि त्यसवेलासम्म उमेर पुगेरै उनीहरूले विवाह दर्तासमेत गरिसकेका थिए ।

प्रहरी स्रोतका अनुसार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख एसएसपी सानुराम भट्टराईलाई भनेर उनीहरूलाई पक्राउ गरेर ल्याउन टोली भारत पठाएका हुन् । गम्भीर किसिमका मुद्दाका फरार अभियुक्तहरू पक्राउ गर्न मात्र यसरी विशेष टोली विदेश जाने गरेको छ । अपराध अनुसन्धान कार्यालयकै एक प्रहरी भन्छन्, ‘अन्तरजातीय विवाह गर्ने टोलीलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली यसरी विदेशमा खटिएको सायद यो पहिलो घटना होला, बर्दीमै दाग लाग्ने काम भयो ।’

अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख एसएसपी सानुराम भट्टराईले सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले सत्येन्द्रलाई पक्राउ गरेर सर्लाही पठाइएको, तर सोही केसमा आफ्नो टोली भारत गएको विषय भने याद नभएको बताए । ‘विभिन्न केसमा टोलीहरू भारत गइरहेका हुन्छन्,’ उनले भने, ‘तर, यो केसमा भने ठ्याक्कै याद भएन ।’

सत्येन्द्र र नेहालाई पक्राउ गर्न डिएसपीको नेतृत्वमा भारत गएका हवल्दार इन्द्र पोखरेलसँग राष्ट्रिय मानव अधिकार आयोगले समेत बयान लिइसकेको छ । आफू एसएसपीको आदेशमा गएको उनले बताएका छन् । हवल्दार पोखरेलले सत्येन्द्रलाई पक्राउ गरेपछि कुटपिटसमेत गरेको उजुरीमा उल्लेख छ । घटनामा संलग्न अन्य प्रहरीमाथि समेत आयोगले छानबिनमा बोलाएको छ , नवराज मैनालीले नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष