NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौं । महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा सम्पन्न भएको छ ।

बुधबार बेलुकी करिब ६ बजेबाट सुरु भएको पूजा आज बिहान ६ बजेसम्म चलेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् ।

बुधबार बेलुकी करिब ६ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे र त्यसलगत्तै सुरु भएको दोस्रो प्रहरको पूजा ११ः४५ बजेसम्म चलेको हो । तेस्रो प्रहरको पूजा २ः४५ र चौथो प्रहरको पूजा बिहान ६ बजेसम्म चलेको थियो । जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भइरहेको छ।

प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चाबहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि हुने परम्परा रहिआएको छ ।

महाशिवरात्रिका अवसरमा बुधबार दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा पनि लाखौँ भक्तजनको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष