NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत १८ गते

हितेन्द्रमा कसरी ‘सिफ्ट’ भयो बिचौलिया समूह

काठमाडौं ।  बिचौलिया समूहले सुरुमा पूर्वसचिव अर्जुन कार्कीलाई कुलमानको विकल्पमा अघि सारेको थियो । आफूअनुकूल निर्णय गर्न आनाकानी नगर्ने र नडराउने सुरो स्वभावका व्यक्तिका रूपमा कार्की उनीहरूको रोजाइमा परेका थिए । ऊर्जामन्त्री दीपक खड्का त्यसमा तयार नै थिए, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी आरजु राणालाई मनाउने अभियानमा थिए । देउवादम्पती त तयार थिए, तर ओली सहमत थिएनन् । खास गरेर कार्कीले पछिल्लो समय लेखेका लेखहरूले ओली असन्तुष्ट थिए । नेताहरूको प्रवृत्ति र शैली ठिक नभएको जिकिरसहितका उनको लेखका कटिङ र प्रिन्टकपी नै बालुवाटार पुगेका थिए । आफ्नै ‘कोर’ टिमबाट पनि ओलीलाई ‘कार्की उपयुक्त नहुने’ सुझाव थियो ।

बिचौलिया समूहलाई कुलमान हटाइछाड्ने र आफ्ना काम सहज रूपमा अगाडि बढाउने पात्र चाहिएको थियो । सत्तारूढ शीर्ष नेताहरूसहित उनीहरूबिच कुलमान हटाउनेमा एकमत भए पनि कसलाई ल्याउने भन्नेमा सहमति हुन सकेको थिएन । यस्तो वेला बिचौलिया समूहले व्यक्तिभन्दा परिणाम मुख्य ठान्यो । प्रधानमन्त्री ओली पनि सहमत हुने र आफूहरूको चासो पनि सम्बोधन हुने देखिएपछि हितेन्द्रदेव शाक्य ‘सिन’मा आए । बिचौलिया समूहले नै देउवापत्नी आरजुलाई प्राधिकरणको कार्यकारी निर्देशक एमालेलाई दिने गरी शाक्यको नाममा सहमत गराएको स्रोतको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।