NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३ गते

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव२०८२’ सुरु भएको छ ।

विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।

दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् ।

नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्तालगायत व्यक्तिको उपस्थिति थियो ।

महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर गरे । महोत्सव उद्घाटन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका थिए ।