NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २५ गते

भारत–पाकिस्तान तनाव : हवाई हमलापछि अहिलेसम्म के– के भयो ?

काठमाडौं । भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गर्‍यो। भारतले पाकिस्तानभित्र ‘आतंकवादी अखडाहरू’लाई निशाना बनाएर उक्त हमला गरेको बताएको छ। तर पाकिस्तानले आफ्नो भूमिमा ‘आतंकवादी शिविर’ भएको भारतको दाबीलाई खारेज गरेको छ।

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानलाई निशाना बनाएको बताएको छ। पाकिस्तानले भने त्यसको खण्डन गर्दै ६ स्थानमा हमला गरिएको जनाएको छ ।

पाकिस्तानका अनुसार, भारतीय कारबाहीमा ३१ जना मारिनुका साथै ५७ जना घाइते भएका छन् ।

भारतले पाकिस्तानी भूमिमा हमला गरेपछि विश्वकै ध्यान यसतर्फ खिचिएको छ । यसको क्रियाप्रतिक्रियामा योबीचमा विभिन्न घटनाक्रम पनि विकास भएका छन् ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले हमलाबारे प्रतिक्रिया दिँदै पहलगाम हमलाको अनुसन्धानले पाकिस्तानसँग आतंकवादीहरूको सम्पर्क रहेको तथ्य उजागर गरेको र पाकिस्तानमा आधारित ‘आतंकवादी’ मोड्युलहरूमा भारतको गुप्त निगरानीले भारतविरुद्ध थप हमला हुन सक्ने सङ्केत दिएकाले त्यसलाई सम्बोधन गर्न आवश्यक भएको बताए।

हवाइ हमलाकाे केही समयपछि पाकिस्तानी सेनाले गरेकाे आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकले ज्यान गुमाएको जनाएका छन् ।

पाकिस्तानले पाँच भारतीय जेट र एक ड्रोन खसालेको दाबी गरेको छ । यद्यपि, अहिलेसम्म यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त दाबीको सन्दर्भ दिँदै पाकिस्तानले आफ्नो ‘जवाफ’ दिएको बताए।

यसैबीच, भारतीय सेनाले नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ नागरिक मारिएको बताएको छ।

विश्वभरका नेताहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न अपील गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले गर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै पाकिस्तानको लाहोरमा ठूलो विस्फोट भएको छ । प्रत्यक्षदर्शीले ठूलो विस्फोटको आवाज आएको बताए पनि क्षतिको यकिन विवरण आइसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष