NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित (मदन–आश्रित) को ३२औँ स्मृति दिवस शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउने भएको छ ।

एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन-आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरिएको उनले बताए। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मदन-आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यसअनुसार तयारी गर्न निर्देशन दिइसकेका छन् ।

तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितकोे दुर्घटनामा निधन भएको जेठ ३ गते ३२ वर्ष पुग्दै छ । उनीहरूको २०५० जेठ ३ गते दासढुङ्गामा गाडी दुर्घटनामा निधन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष