मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका

काठमाडौं (एजेन्सी) । अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस विमान दुर्घटनामा प्रमुख संगीत एजेन्ट डेभ शापिरोको मृत्यु भएको छ।
शापिरो साउन्ड ट्यालेन्ट ग्रुपका सह–संस्थापक थिए। उनी ‘सम ४१’, ‘स्टोरी अफ द इयर’ र ‘पियर्स द वेल’ जस्ता रक ब्यान्डहरूमा संलग्न थिए।
यस दुर्घटनामा मेटल ब्यान्ड ‘द डेविल वियर्स प्राडा’ का पूर्व ड्रमर ड्यानियल विलियम्सको पनि मृत्यु भएको आशंका गरिएको छ। सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार उनले दुर्घटनामा परेको विमानबाट सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
विमान दुर्घटनाका कारण मर्फी क्यान्यनमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने वरपरका अन्य दश भवनहरूमा पनि क्षति पुगेको छ। सडकमा जलेका कारहरू र तिनका अवशेषहरू छरपष्ट छन्। आठ जना घाइते भएका छन्।
साउन्ड ट्यालेन्ट ग्रुपका प्रवक्ताले बिबिसीलाई भनेका छन्, ‘हामी हाम्रा सह–संस्थापक, सहकर्मी र साथीहरू गुमाउँदा स्तब्ध छौं। हाम्रो समवेदना उनीहरूका परिवार र आजको त्रासदीबाट प्रभावित सबै व्यक्तिहरूसँग छ।’
विमान कम्पनीले यस दुर्घटनामा आफ्ना तीन कर्मचारीको मृत्यु भएको बताएको छ। उनीहरूसँग शापिरो पनि सामेल छन्। कम्पनीले अन्यको पहिचान सार्वजनिक गरेको छैन।
सान डिएगोका अधिकारीहरूले यस दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि, दुर्घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले मृतकहरूको कुल संख्या स्पष्ट नभएको जनाएको छ ।
अधिकारीहरूले मृत्यु भएकामध्ये कसैको पनि नाम सार्वजनिक गरेका छैनन्।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया