एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए । उनले भने, “सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।”
कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ । उनले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन/आइसोलेसन’मा बस्न आग्रह गरे ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया