NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका नदी तथा खोलाका किनारमा जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्षेनी दोहोरिने बाढी जोखिमलाई ध्यानमा राखी दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरेका छन्।

उनका अनुसार प्रत्येक वर्ष वर्षायाममा नदी किनारका बस्तीमा बसोबास गर्ने हजारौँ नागरिकले ज्यान जोगाउन घर तथा सम्पत्ति छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको छ, जसलाई अब निरन्तरता दिन नहुने उनको भनाइ छ। जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य पार्नु भन्दा सुरक्षित आवास उपलब्ध गराउनु नागरिकको अधिकारसँग जोडिएको विषय भएको उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले अव्यवस्थित नदी किनार बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा कठिनाइ उत्पन्न भएको र यसले उपत्यकाको सरसफाइ तथा नदीहरूको अवस्था झन् बिग्रिएको पनि बताएका छन्। थापाथली, गैरी गाउँ र मनोहरा क्षेत्रका बस्तीलाई मानवीय दृष्टिकोण अपनाउँदै बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए।

यससँगै उनले निर्वाचनताका गरिएका प्रतिबद्धता, दलको घोषणापत्र तथा सरकारका प्राथमिकताअनुसार सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए।

प्रधानमन्त्री शाहले नदी किनारको समस्या र देशभर रहेका वास्तविक सुकुम्बासीको अवस्थाबीच स्पष्ट भिन्नता रहेको उल्लेख गर्दै अतिक्रमणकारी र वास्तविक सुकुम्बासीको पहिचान गरिने बताए। प्रक्रिया पूरा गरी वास्तविक सुकुम्बासीलाई छिटो जग्गा उपलब्ध गराउने तथा दीर्घकालीन समाधान निकाल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।