क्यान्सरसँग जुधिरहेकी श्लाेक वाचिका सरुको स्वास्थ्य अवस्था कस्तो छ ? श्रीमानले दिए यस्तो जानकारी

काठमाडौं । क्यान्सर रोगसँग लडिरहेकी छन्द कविता वाचक सरु गुरागाईंको स्वास्थ्यमा केही सुधार आएको छ ।
छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरुलाई घाँटीको क्यान्सर भएपछि उनको उपचार भइरहेकोमा हाल उनको घाँटी वरिपरि र थाइराइडमा भएको क्यान्सरको टिस्युहरू शल्यक्रियामार्फत झिकिएको उनका श्रीमान् मुुरारी गुरागाईंले जानकारी दिएका छन् ।
‘घाँटीमा लगभग एक बित्ता लामो चोट छ, जहाँबाट त्यहाँ भएका लिम्फ नोडहरूसहित ट्युमर निकालिएको थियो । घाउ ठूलो भएकोले निको हुन केही समय लाग्नेछ,’ मुरारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलेभन्दा धेरै सहज भइसकेको छ । खान बोल्न सामान्यतया समस्या छैन । बाँकी उपचार के कस्तो हु्न्छ यो सबै आउने दिनमा थाहा हुनेछ ।’
गुरागाईंको अहिले अमेरिकाको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचार भइरहेको छ । यसअघि सरुका श्रीमान् मुरारीले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका थिए ।
उनले `गो फन्ड मी´मार्फत रकम सहयोग गर्न आग्रह गरेका थिए । सरुको उपचारका लागि विभिन्न क्षेत्रबाट रकम सहयोग भएको थियो । सहयोग गर्ने सबैलाई गुरागाईंले धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘हामीले यो असहज परिस्थितिलाई थोरै सहयोग हुन्छ कि भनेर सञ्चालन गरेको गो फन्ड मीमा सोचेभन्दा धेरै शुभचिन्तकले दिनुभएको आशीर्वादले पक्कै पनि सहज बनाउनेछ । भविष्यमा फेरि कहिल्यै पनि यस्तो सहयोगको लागि अनुरोध गर्नुपर्ने परिस्थिति नबनोस् भन्ने भगवानसित प्रार्थना गर्दछु ।’
मुरारीले गोफन्डमी अबको केही समयपछि बन्द गर्ने जानकारी पनि गराएका छन् । गुरागाईं दम्पत्तिका दुई सन्तान छन् ।
अमेरिकामा स्थायी बसाेबास गर्ने उनीहरू इलामका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका भिडियोहरू बनाउथिइन्, जुन छाेटाे समयमै निकै चर्चित भएकाे थियाे ।
प्रतिक्रिया