NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

विश्वकप क्रिकेट : भारतसँग हार्यो पाकिस्तान, अन्तिम आठमा पुग्ने सम्भावना न्यून

काठमाडौं । भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

अमेरिकाको न्युयोर्कमा गएराति सम्पन्न खेलमा भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, इमाद वासिमले १५ रन बनाउँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३–१३ रन जोडे।

पाकिस्तानलाई ११३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । त्यस्तै, अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन/तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै, शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यस हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो ।

योसँगै भारतले दुई खेलमा जित निकालेर ४ अङ्क बटुलेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् ।