ग्लोबल टी–२० को उपाधि रोहित आबद्ध टोरन्टोको पोल्टामा

काठमाडौं । ग्लोबल टी–२० प्रतियोगिताको उपाधि टोरन्टो नेसनल्सले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरन्टोले उपाधि कब्जा गरेको हो ।
टोरन्टो नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल आबद्ध टिम हो ।
यो प्रतियोगितामा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध टिम पनि सहभागी भएको थियो । तर यो टिम भने लिगको अन्तिममा रहँदै बाहिरिएको थियो ।
क्यानडामा सम्पन्न खेलमा पहिले फिल्डिङ सम्हालेको टोरन्टोले साविक विजेता मोन्ट्रियलबाट ९७ रनको झिनो लक्ष्य पाएको थियो । जसलाई उसले ३० बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा भेट्टायो ।
टोरोन्टोका लागि आन्द्रिस गोसले सर्वाधिक ५८ रनको योगफल तयार गरे भने रासेइ भान डेर दुसेनले ३० रन जोडे ।
यसक्रममा मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन मात्र जोड्न सक्यो । खराब प्रदर्शन गरेको मोन्ट्रियलका लागि कोर्बिनले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, सिंहले १६ र अनुप रविले १० रन बनाए । यसबाहेक मोन्ट्रियलका अन्य कुनै पनि खेलाडीले दोहोरो रनको योगदान गर्न सकेनन् ।
प्रतिक्रिया