NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

विराटनगरमा जसपालाई कांग्रेसबाट धोका, एमालेलाई फाइदा

काठमाडौं । विराटनगर महानगरपालिकामा कांग्रेसले जसपालाई धोका दिएको छ । गठबन्धनको भागबण्डाप्रति असन्तुष्ट देखिएका कांग्रेसका कार्यकर्ता र मतदाताले अन्ततः मतदानमा त्यसको प्रभाव देखाएका छन् ।

हालसम्म झण्डै ५ हजार कांग्रेसका मतदाताले जसपाबाट उठेका अमरेन्द्र यादवलाई उपमेयरमा भोट नहाली उम्मेदवार नै नभएको कांग्रेसको मतदान चिह्न रुखमा हालेका छन् । सो ४८३७ छ । यो मत अमरेन्द्रलाई परेको खण्डमा उनले एमालेकी उम्मेदवार शिल्पा कार्कीलाई जित्ने थिए ।

गठबन्धनको तर्फबाट उपमेयरमा उठेका जसपाका अमरेन्द्रले ६६८६ मत ल्याएका छन् । जबकि, एमालेकी उम्मेदवार शिल्पा कार्कीले ११०११ मत ल्याएकी छिन् । अमरेन्द्र शिल्पाभन्दा ४३२५ मतले पछाडि छन् । यदि, उम्मेदवार नै नभएको रुखमा परेको उपमेयरको मत अमरेन्द्रलाई आएको भए उनको मत शिल्पाको भन्दा धेरै अर्थात ११५२४ हुने थियो । यसैले कांग्रेसको धोकाले जसपालाई घाटा भएको भने एमालेलाई फाइदा पुगेको छ ।

मेयरमा भने कांग्रेसका नागेश कोइराला एमालेका सागर थापाभन्दा धेरै अघि छन् । हालसम्म ४० हजार २७२ मत गणना भएकोमा कोइरालाले ३१०१ मतको अग्रता लिएका हुन् ।

गठबन्धन हुँदा जसपाले उपमेयर पाएपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । यसैको परिणाम अहिले परिणाममा देखिएको छ ।

उपमेयरमा उठेका अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष