NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चुनावपछि फेरि एमसिसीमाथि बहस हुन्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट परित गरिएको एमसिसी व्यवहारिक कार्यान्वयनमा नजरअन्दाज गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । एमसिसीमाथिकाे बहस र टिप्पणी नसकिएकाे भन्दै चुनावपछि फेरि यसमाथि बहस र छलफल हुने उनकाे भनाइ छ ।

कार्यकर्ता प्रशिक्षणका लागि प्रदेश १ मा पुगेका उनले सार्वभौमसत्ता संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास भएपछि तत्काल विवाद अन्त्य भएको प्रतिकृया दिए ।

‘बाध्यात्मक परिस्थितिमा व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट पास भएकाे छ । मेरो विचारमा तत्काल एमसिसीसम्बन्धी विवाद हल भएको छ’, सञ्चारकर्मीलाई प्रतिकृया दिदै उनले भने, ‘व्यवहारिक कार्यान्वयनमा नजरअन्दाज गर्ने काम भए हामीलाई मान्य छैन । त्यस्तो स्थिति आए फेरि सडक संघर्षमा जान्छौं ।’

प्रदेश १ का इन्चार्ज राम कार्की र एमसिसीमा फरक मत राखेका नारायणकाजी श्रेष्ठलाई सँगै दायाँ–बायाँ राखेका प्रचण्डले फरक मतलाई चुनावपछि फोरममा बहस र छलफलमा लैजाने बताए । एमसिसीकै कारण माओवादी फेरी फुट्ने हो कि भन्ने आशंकालाई पार्टी नेताहरूले एक मतले अस्वीकार गरेको दावी गरे ।

उनले एमसिसीलाई देखाएर पार्टी छोड्ने नेताहरूसँग निकै आक्रोस पोखेका थिए । ‘पार्टीभित्र केही नेताहरूले एमसिसी पास गर्न नेतृत्वले सहमति गरेकाले पार्टी छोड्यौं भन्दै हिडेका छन् । सुन्दा पनि मलाई अचम्म लाग्छ’, प्रचण्डले व्याङ्य गर्दै भने, ‘एमसिसीका कारण पार्टी छोडे भन्नेले विप्लव, किरण, नारायणमान विजुच्छेको पार्टीमा जानु नि । माओवादी छोडेर एमाले प्रवेश गरेका छन् । त्यस्तो नि तर्क हुन्छ ।’
एमसिसीको विरोध सबैभन्दा बढी मजदुर किसान पार्टीका नेता प्रेम सुवालले गरेको भन्दै पार्टी छोडेर त्यता गएका भए तर्कसँगत हुने बताए ।