NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

माओवादीले थाहै नदिई प्रचार सामग्रीमा मेरो तस्बिर राख्यो : कुलमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनको प्रचार सामग्रीमा आफ्नो तस्बिर प्रयोग गरेकोप्रति नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् । आफूलाई जानकारी नै नदिई माओवादीले प्रचार सामग्रीमा तस्बिर दुरूपयोग गरेको उनको भनाइ छ ।

‘माओवादीको निर्वाचन प्रचार सामग्रीमा मेरो तस्बिर प्रयोग गरिएको तपाईंबाट पहिलो पटक थाहा पाएँ । माओवादीले मलाई यसबारे कुनै जानकारी दिएको छैन । यदि मेरो अनुमतिबेगर प्रचार सामग्रीमा तस्बिर प्रयोग गरिएको हो भने यो आपत्तिजनक छ,’ माओवादी केन्द्रको प्रचार सामग्रीमा तस्बिर प्रयोगबारे नेपालवाचले राखेको जिज्ञासामा घिसिङले भने ।

घिसिङले यसबारे माओवादी केन्द्रको नेतृत्वसँग आफूले कुरा गर्ने पनि बताए । ‘कसरी यस्तो भएको हो भनेर अब म माओवादी केन्द्रको नेतृत्वसँग बुझ्छु,’ घिसिङले भने ।

माओवादी केन्द्रले बुधबार प्रचण्डको आधिकारिक फेसबुक पेजबाट स्थानीय तह निर्वाचनलाई लक्षित गरेर तयार प्रचार सामग्री सार्वजनिक गरेको छ । त्यसको पहिलो लहरमा पार्टी अध्यक्ष प्रचण्ड, दोस्रोमा अर्थमन्त्री जनार्दन शर्मा र तेस्रो लहरमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको तस्बिर प्रयोग गरिएको छ । जसमा माओवादीले मुलुकलाई लोडसेडिङमुक्त गरेको जस लिँदै भोट मागेको छ ।  ‘अँध्यारोबाट उज्यालोको यात्रा,’ सामग्रीमा लेखिएको छ ।

माओवादीको प्रचार सामग्रीमा कुलमानको तस्बिर दुरूपयोग

ताजा अपडेट

नेपालवाच विशेष