NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

गण्डकीमा एमाले नेतृत्वको सरकार बनाउने प्रयास, प्रदेशसभा सदस्य थापा र पहारीलाई उम्मेदवार नबनाइने

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उप–महानगरपालिकाको उम्मेदवार छनोट गर्न बिहीबार बसेको एमाले सचिवालयको बैठकले सर्वसम्मत निर्णय गर्न सकेन ।

वैशाख १० मा उम्मेदवार टुंग्याउने गरी बैठक सकिएको छ । ललितपुर, भरतपुर र वीरगञ्जमा सर्वसम्मत मेयरका उम्मेदवार छनोट गरेको एमालेले काठमाडौं, विराटनगर र पोखरामा आकांक्षी बढी देखिएकाले छनोटमा समस्या देखिएको छ । त्यस्तै ११ उपमहानगरका उम्मेदवार पनि छनोट हुन सकेको छैन ।

बिहीबार ओली निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकमा उम्मेदवार छनोट प्रक्रियाबारे छलफल भए पनि कुनै सहमति जुट्न सकेन । सबैभन्दा बढी विवाद रहेको पोखरा महानगरमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच कुरा नमिल्दा के गर्ने भन्ने विषयमा घनिभुत छलफल गर्नुपर्ने आवश्यक रहेको एक नेताले बताए ।

‘सातै प्रदेशबाट आएका उम्मेदवारका विषयमा आज प्रारम्भिक छलफल गरेका छौं । आजको बैठकमा प्रदेश सांसद भएकालाई उम्मेदवार नबनाउने भन्ने छ’, एक नेताले भने, ‘निर्वाचन आचासंहिताअनुसार स्थानीय तहको उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने बाध्यता छ । गण्डकी प्रदेशमा हाम्रा दुईजना सदस्य मेयरका आकांक्षी छन् ।’

प्रदेशसभा सदस्यलाई उम्मेदवार बनाउँदा एमालेको नेतृत्वमा बन्न सक्ने सरकारको सम्भावना समाप्त हुन सक्ने उनको तर्क रहेको छ । ५९ सदस्यीय प्रदेशसभा रहेको गण्डकीमा एमालेका २७ र गठबन्धनका ३२ जना छन् ।

मेयरको उम्मेदवारी दिएकामध्ये पोखरा महानगरमा राजीव पहारी र कृष्ण थापा प्रदेशसभा सदस्य छन् । वाग्मती प्रदेशसभा सदस्य रहेका विजय सुवेदी भरतपुरको मेयरका लागि सर्वसम्मत उम्मेदवार हुन् ।

एमालेले वैशाख १० मा महानगर र उपमहानगरका सबै उम्मेदवार टुंगो लगाउने