NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सिर्जनातिर संकेत गर्दै गगनले भने, ‘अहिले उहाँलाई टिकट दिएर पार्टीले न्याय गरेको छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौं महानगरपालिकाको लागि आवश्यक भएको बताएका छन् ।

कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिहंको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज उनले काठमाडौंभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

“सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहकी श्रीमतीमात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्”, महामन्त्री थापाले भने ।

काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भीडभाड कम गर्न फुटपातको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरेपनि काठमाडौंका जनताले राहत पाउने बताए । महामन्त्री थापाले काठमाडौंको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गरे ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गरे । उनले कांग्रेस कम कुरा गर्ने र काम धेरै गर्ने पार्टी भएको बताउँदै मुलुकमा सुशासन र समृद्धि ल्याउनका लागि कांग्रेसलाई जिताउनुपर्ने बताए ।

नेता डा. महतले नेपालको लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्वपूर्ण भूमिका रहेको बताउँदै लोकतन्त्रको रक्षा गर्दै मुलुकको विकासका लागि पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुखमा सिंहलाई उठाएको उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सक्षम महिला नेत्रीलाई कांग्रेसले महानगरको उम्मेदवारको रुपमा अगाडि सारेको भने ।

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले काठमाडौंको मुहार फेर्नलाई कांग्रेस नेतृत्वले महिलालाई महानगरको उम्मेदवार बनाएको भन्दै कांग्रेस केन्द्रीय नेतृत्वलाई धन्यवाद दिए । कांग्रेस काठमाडौंका पूर्वसभापति एवमं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षा गर्दै लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताए । कांग्रेस काठमाडौं महानगरपालिकाका सभापति नीलकाजी शाक्यले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबैलाई आग्रह समेत गरे ।

सोही कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुखकी उम्मेदवार सिंहले काठमाडौंलाई परिवर्तन गर्नका लागि सात सङ्कल्प प्रस्तुत गरेकी थिइन् ।

काठमाडौं कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंहका के छन् सात संकल्प ?