NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

काठमाडौं महानगर अपडेट : एक हजार ३९० मतले बालेन अगाडि

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) एक हजार ३९० मतान्तरसहित अगाडि रहेका छन् । आज अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले एक हजार ४३८ मत पाएका छन् ।

नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गरेका छन् । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।