NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

धुनिबेंसीमा माधव नेपालको समाजवादीले पल्टायो एमालेको गढ

एमालेविरुद्ध समाजवादीको सानदार जित

काठमाडौं । संघीय राजधानीसँगै जोडिएको धादिङको धुनिबेंसी नगरपालिकामा नेकपा एमालेले शर्मनाक हार व्यहोरेको छ । २०७४ को निर्वाचनमा मेयर र उपमेयरसहित ९ वडामध्ये ६ वडामा एमालेले प्यानल नै जितेको थियो ।

पार्टी विभाजनपछि योपटक पालिकाको नेतृत्व नेकपा (एकीकृत समाजवादी)को पोल्टामा गएको छ । ९ मध्ये एउटा पनि वडाध्यक्ष जित्न नसकेको एमाले ४ सदस्यमा खुम्चिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गठबन्धनले मेयर र उमपेयरसहित ८ वडा अध्यक्ष र एक वडामा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण आचार्य ८ हजार ७०६ मत ल्याएर दोस्रो पटक विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी रामराजा पाण्डेले ६ हजार ५९२ मत पाएका छन् । २ हजार एक सय १४ मतले समाजवादीले एमालेलाई हार चखाएको हो ।

यस्तै उपमयेरमा कांग्रेसका सुरज उप्रेती ८ हजार ३८७ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाएकी छिन् । उपे्रतीले एमाले उम्मेदवार श्रेष्ठलाई १९१७ मतले पराजित गरे । धुनिबेंशीमा ३० वर्षमा कांग्रेसले पहिलोपटक स्थानीय तहमा प्रवेश पाएको हो ।

९ वडा रहेको धुनिबेंसीमा माओवादी केन्द्रबाट १ मा वडाध्यक्षसहित मानबहादुर तामाङको प्यानलै विजयी भएको छ । २ नम्बर वडामा एकीकृत समाजवादीका वडाध्यक्षमा लक्ष्यजित तामाङ विजयी भएका छन् । एमालेबाट शम्मु्प्रसाद खकुराल सदस्यमा विजयी भए । अन्य तीन सदस्य गठबन्धनले जितेको छ । गत निर्वाचनमा वडाध्यक्ष मात्र जितेर कांग्रेसको बिउ जोगाएको वडा नम्बर ३ मा प्रकाश हमालको प्यानल नै विजयी भएको छ ।

त्यस्तै ४ नम्बर वडामा एकीकृत समाजवादीका उम्मेदवार हरिप्रसाद सुवेदीको प्यानल नै विजयी भएको छ । गत निर्वाचनमा माओवादीले जितेको ५ नम्बर वडा योपटक गुमाएको छ । माओवादीका उम्मेदवार कृष्णकुमार रेग्मीलाई हाराउँदै स्वतन्त्रका विशाल भट्टराई विजयी भए । गत निर्वाचनमा यो वडामा रेग्मी विजयी भएका थिए । ६ नम्बर वडामा माओवादीका उम्मेदवार रमेशप्रसाद आचार्यको प्यानल नै विजयी भएको छ ।

त्यस्तै ७ नम्बर वडामा कांग्रेसका उम्मेदवार यदुनाथ पाठकको प्यानल नै विजयी भएको छ । ८ मा माओवादीका उम्मेदवार रामकृष्ण रेग्मी अध्यक्षमा विजयी भएका छन् । यहाँ पनि एमालेले एउटामात्र सदस्य जितेको छ । गत निर्वाचनमा पनि रेग्मी अध्यक्षमा निर्वाचित भएका थिए । वडा नम्बर ९ मा कांग्रेसका उम्मेदवार माधवप्रसाद सिलवाल विजयी भए । यहाँ एमालेका २ खुला सदस्य विजयी भएका छन् ।

एमालेविरूद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेको धुनीबेंसीमा एकीकृत समाजवादीले मेयरसहित २, माओवादी केन्द्रले ४ र कांग्रेसले ३ वडामा भागबण्डा गरेको थियो । एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । २५ हजार ८२० मतदाता रहेको धुनिबेंसीमा १८ हजार ८८८ मत खसेको थियो ।