धरानका स्वतन्त्र उम्मेदवारले खिचे सबैको ध्यान

विराटनगर । गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
धरान उपमहानगरपालिका
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसारमा पछिल्लो परिणामअनुसार धरान उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राईले ६ हजार ९६५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । सोही पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले ६ हजार ८५७ र नेकपा एमालेका मञ्जु भण्डारी सुवेदीले पाँच हजार ५४२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार हर्कले कांग्रेसका उम्मेदवार किशोरभन्दा १०८ बढी मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अइन्द्रविक्रम बेघा सात हजार ७६२ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी एमालेका पद्मप्रसाद लिम्बूले सात हजार ३३५ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
बीसवटा वडा रहेको धरानमा ११ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । चारवटा वडामा वडाध्यक्ष कांग्रेस, ६ वटा वडामा वडाध्यक्ष नेकपा (एमाले) र एकमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार ५३५ मत प्राप्त गरी अग्रस्थानमा छन् । एमालेका यामबहादुर चुङवाङ सुब्बाले नौ हजार २११ मत प्राप्त गरी पौडेललाई पछ्याइरहेका छन् । उपप्रमुखमा एमालेका सङ्गीताकुमारी चौधरीले १० हजार ३२३ मत प्राप्त गरी अग्रता लिएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले सात हजार ६७ मत प्राप्त गरेका छन् ।
बीसवटा वडा रहेको यस पालिकामा ६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा दुईवटा वडामा वडाध्यक्ष कांग्रेस र चारवटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको बताइएको छ । -रासस
प्रतिक्रिया