NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

काभ्रेको पनौतीमा यसरी पल्टियो एमालेको लालकिल्ला

काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा यसपटक निक्कै अस्वाभाविक नतिजा आएको छ । एमालेको अत्याधिक प्रभाव रहेको पनौतीको मेयर यसपटक कांग्रेसले २२६७ मतान्तरले जितेको छ । कांग्रेसका रामशरण भण्डारीले एमालेका भीम न्यौपानेमाथि भारी मतको अन्तरले जितेका हुन् । नेकपा एकीकृत समाजवादीलाई हराउँदै उपमेयर भने एमालेले जितेको छ । एमालेका भीम न्यौपानेले २०७४ सालमा कांग्रेसका विदुर बञ्जारालाई ३०६७ मतले पराजित गरी मेयर जितेका थिए ।

नगरमा एमाले गढ ढल्दै गर्दा वडाहरूमा पनि उस्तै अस्वाभाविक नतिजा आएको छ । एमालेको गढको रुपमा रहेका वडा १ र १२ वडामा एमाले जितविहीन बन्न पुगेको छ । यी दुवै वडा एमालेले सधैं जित्दै आएका र बलियो प्रभाव भएका ठाउँ हुन् । वडा १ रयाले र १२ भूमिडाँडामा पर्छन् ।

अघिल्लोपटक ४०५ मतान्तरले पराजित भएको पनौती १ मा एमाले २२५ मतान्तरले यसपटक पराजित भयो । अघिल्लोपटक एमालेका गुणनाथ सापकोटा र कांग्रेसका जयकुमार लामा भिडेका थिए । यसपटक कांग्रेसका जयकुमार लामा र एमालेका वीरमान लामा भिडेका थिए । जसमा कांग्रेसका लामाले सहज जित हात पारे ।

त्यस्तै अघिल्लाेपटक ६०२ मतान्तरले जितेको १२ नम्बर वडामा पनि यसपटक एमालेले हार बेहोरेको छ । अघिल्लोपटक एमालेका महेश्वर जंगमले १११७ मत ल्याएका थिए । कांग्रेसका कुमारप्रसाद लामिछानेले ५१५ मत ल्याएका थिए । तर यसपटक परिणाम झन् रोचक भएको छ । एमाले, कांग्रेस, र एकीकृत समाजवादी तीनवटै पार्टी वडाध्यक्षमा कडा प्रतिस्पर्धा गरेका हुन् ।

जुन प्रतिस्पर्धामा समाजवादीका जयराम केसी जम्मा ७ मतले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर जंगमले जितनजिक पुगेर पनि नमिठो पराजय बेहोरे । एमालेको लालकिल्ला रहेको वडामा कांग्रेस पनि उस्तै प्रतिस्पर्धी बन्न पुग्यो । तीनवटै पार्टीका वडाध्यक्षका उम्मेदवारको मतान्तर थोरै मात्रै रह्यो ।

जितपछि प्रतिक्रिया दिंदै जयराम केसीले समाजवादीका निम्ति ऐतिहासिक जित भएको बताए । ‘हामीले यसपटक जित्न धेरै नै मेहनत गरेका थियौं । आज हाम्रो सपना साकार भएको छ’ केसीले जितपछि भने, ‘१२ नम्बर वडा (भुमिडाँडा)मा ऐतिहासिक जित दिलाउन सहयोग गर्ने सबैप्रति खुशी व्यक्त गर्दछु ।’

अघिल्लोपटक १२ वडामध्ये कांग्रेस र एमालेले ६्\६ वटा जितेका थिए । तर यसपटक एमालेले ७ वटा कांग्रेसले ४ वटा र नेकपा एकीकृत समाजवादीले एउटा वडा जित्यो ।

अघिल्लोपटक एमालेले १,२,३,४,५ र १२ वडा जितेको थियो । ६, ७, ८, ९, १० र ११ वडा कांग्रेसले जितेको थियो । यसपटक एमालेले २, ३, ४, ६, ७, ८ र ११ जित्यो । कांग्रेसले १, ५, ९ र १० जित्यो ।

एमालेलाई पार्टी विभाजनको आंशिक असर भने देखिएको छ । तर वडाध्यक्षमा धेरै मत ल्याएर जित्ने तर मेयरमा भोट नपाउने नियति एमालेको देखियो । एमालेले मेयर र उपमेयर दुवैमा यसपटक पुराना उम्मेदवारलाई उठाउँदा घाटा बेहोरेको चर्चा एमालेभित्रै छ ।

एमालेको प्रभावशाली पकड भएको पनौती नगरमा कांग्रेसको जित

ताजा अपडेट

नेपालवाच विशेष