NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपालले अमेरिकासँग नाटकीय बराबरी खेल्दाको रोमाञ्चकता यस्तो थियो

काठमाडौं । नेपालले आइतबार बिहान आइसिसी क्रिकेट वल्र्ड कप लिग २ मा अमेरिकासँग नाटकीय बराबरी गरेको छ । तीन सयभन्दा माथिको लक्ष्य दिने गरी अघि बढेको नेपाललाई अमेरिकन बलरले २७४ रोकेपछि लक्ष्य थियो २७५ ।

तर अमेरिकाले यो लक्ष्य पछट्याउने क्रमको अन्तिम ओभर र अन्तिम बलसम्म चरम रोमाञ्चकता देखिएको छ । सोही रोमाञ्चकताले नेपालले आफ्नो हातबाट फुत्काइसकेको खेलमा पत्याउनै नसकिने बराबरी खेलेको हो । जसले फुत्किसकेको अंकमा नेपालले एक अंक आफ्नो पक्षमा पारेको हो । अमेरिकाले भने जितको धेरै नजिक पुगेर पनि जितको स्वाद चाख्न पाएन ।

२७५ रनको लक्ष्य पछ्याउँदै गर्दा अमेरिकाले २६ रन हुँदा सुशान्त मोदनीलाई १७ रन बनाउँदा गुमायो । जुन विकेट ५.४ ओभरमा खसेको थियो । तर अर्को विकेट खस्दा अमेरिकाले ४१.३ ओभर खेलेको थियो । स्टिभन टेलर र मोयांक पाटिलले दुई सय रनको महत्वपूर्ण साझेदारी गरे । यो क्रममा नेपालले केही महत्वपूर्ण क्याचसमेत छुटाएको थियो ।

मोयांकलाई सन्दीप लामिछानेले आउट गर्नु अघि अमेरिकाले खातामा २२६ रन जोडेको थियो । ८ विकेट बाँकी थियो भने ओभर पनि ८.३ बाँकी थियो । ५१ बलमा ४९ रन बनाउन बाँकी थियो । मोयांक आउट भए पनि क्रिजमा ओपनर स्टेभन टेलर जमेर ब्याटिङ गरिरहेका थिए । यस्तोमा नेपालको खेलमा फर्किने अवसर एकदमै कम थियो ।

४२ औं ओभरमा सन्दीपले मोयांकको विकेट लिन जम्मा दुई दिएदेखि नेपाल खेलमा फर्किन थालेको थियो । ४३ औं ओभरमा दीपेन्द्र ऐरीले ६ रनमात्रै दिए । डेब्यु गरेका मोहम्मद आदिलले ४४ औं ओभरमा ११४ रन बनाएर खेलिरहेका स्टेभन टेलरलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए । यो ओभरमा पनि पनि महत्वपूर्ण विकेट लिएर ६ रन मात्रै दिए ।

४५ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले एक छक्कासहित ११ रन दिएपछि खेल अमेरिकासँग ढल्किने लगभग पक्कापक्काजस्तै भएको थियो ।  खेल अमेरिकाकै पक्षमा थियो । किनकी महत्वपूर्ण विकेट मात्रै बाँकी थिएन । आवश्यक रनरनेट पनि ६ भन्दामाथि पुगेको थिएन । तर नेपाल हरेश खानेवाला देखिएन ।

४६ औं ओभरमा आदिलले ६ रन दिएर एक विकेट लिए ।

४७ ओभरमा सन्दीप लामिछानेले ५ रन मात्रै दिए । यस्तोमा बाँकी तीन ओभरमा अमेरिकालाई जितको लागि १५ रन आवश्यक थियो । ४८ औं ओभरमा आदिलले कसिलो बलिङ गर्ने क्रममा अमेरिकालाई तीन रन मात्रै दिए ।

४९ औं ओभरमा करण केसीको अर्को नाटकीय ओभर रह्यो । सुरुको बल डट फ्याकेका उनले दोस्रो बल वाइड फ्याक्दै एक रन र एक बलको फाइदा अमेरिकालाई दिए । त्यसपछिका लगातार दुई बलमा दुई रन दिए । चौथो बल फेरि वाइड फ्याँके । त्यसपछिका बाँकी तीन बलमा दुईमा एकएक र एक बल डट फ्याँकेर ८ बलमा ६ रन दिए । अन्तिम दुई ओभरमा अमेरिकालाई जितका लागि १२ रन आवश्यक भएकोमा अमेरिकाले ६ रन जोड्यो ।

अन्तिम ओभर लिएर उनै आदिल आए । क्रिजमा आरोन जोन्स र राहुल जरिवाला थिए । सुरुका तीनवटा बलमा अमेरिकाका खेलाडीले एकएक गरी तीन रन जोडे । अब बाँकी तीन बलमा अमेरिकालाई मात्रै रन आवश्यक थियो । क्रिजमा जमिसकेका खेलाडी पनि थिए । चौथो बल आदिलले नो बल फ्याँके यसले अमेरिकालाई जितसम्म पुग्न अझै बलियो आधार दियो ।

May be an image of one or more people, people standing and outdoors

किनकी तीन बलमा अब दुई रन मात्रै जोड्न सक्दा अमेरिकाले जित्थ्यो । अझै फ्रिहिटको फाइदा पनि थियो । नो बलपछिको अतिरिक्त बलमा अमेरिकाले एक रन मात्रै जोड्यो । जसले खेल बराबरीमा ल्यायो । यस्तोमा अमेरिकालाई दुई बलमा एक रन प्राप्त गरेमात्रै जित पक्का थियो । नेपालको जितको सम्भावना सकिइसकेको थियो । बराबरी गरेर अमेरिकासँग अंक खोस्न कि दुवै बल डट फ्याँक्नुपथ्र्यो कि दुवै विकेट लिनुपथ्र्यो ।

यस्तोमा पाँचौ बल लिएर आएका आदिललाई आरोन जोन्सले लामो प्रहार गर्न खोजे । एक रन आवश्यक भए पनि राम्रो सट मारेर खेल जिताउने उनको धोको थियो । तर जोन्सलाई रोहित पौडेलले सानदार क्याच लिएर आउट गरेपछि खेलमा रोमाञ्चकता थपियो ।

अब अन्तिम बलले खेलको निर्णय गराउने भयो । तर पनि पहिलो एक दिवसीय खेल खेल्दै गर्दा आदिल आत्तिएनन् । उनको अन्तिम बलमा राहुल जरिवाला रन आउट हुन पुगे । करण केसीको थ्रोमा दीपेन्द्रसिंह ऐरीले जरिवालालाई आउट गरेपछि अमेरिका जितनजिक पुगेर पनि अंक बाँड्न बाध्य भयो । नेपालले रोमाञ्जक खेल देखाउँदै एक अंक आफ्नो पक्षमा पार्यो ।

नेपालको इनिङ पनि उस्तै नाटकीय

खेलमा नेपालले पनि राम्रो सुरुवात गर्दै सहजै तीन सय माथिको लक्ष्य दिने अनुमान अन्तिम केही ओभरसम्म पनि गरिएको थियो । ४३.४ ओभरमा २४३ रन हुँदासम्म नेपालको चार विकेटमात्रै खसेको थियो । तर त्यसपछि लगातार ३१ रन जोड्दा नेपालले ६ विकेट गुमाउँदा अन्तिम चार बलसमेत खेल्न पाएन । जसले गर्दा सहजै तीन सयमाथि पुग्ने आशा गरिएको नेपालले २७४ रनमात्रै बनाउन सकेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले १९, आशिफ शेखले ६१, देव खनालले ५४, रोहित पौडेलले ६२, मोहम्मद आदिलले ३६ रनको योगदान दिएका थिए ।

बलिङतर्फ ९ ओभरमा ४५ रन दिएर ३ विकेट लिएका आदिल प्लेयर अफ द म्याच घोषित भए । सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिए ।

लिग २ मा नेपालले १४ खेल खेल्दा १३ अंक बटुलेको छ । अमेरिकाले २२ खेल खेल्दा २१ अंक बटुलेको छ ।

नेपालले अझै ओमानसँग र अमेरिकासँग एकएक खेल खेल्न बाँकी छ । यस अघि ओमानसँग नेपाल १३ रनले पराजित भएको थियो ।