NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एन्फा निर्वाचन आज : को–को छन् प्रतिस्पर्धी ?

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन आज हुँदैछ । आगामी चार वर्षे कार्यकालका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुन लागेको हो ।

काठमाडौंको बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले नयाँ नेतृत्व छान्नेछ ।

अध्यक्षका लागि प्यानल नै बनाएर तीन जना उठेका छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौड्यालले अध्यक्षका प्रत्यासी छन् ।

शेर्पाको प्यानलको वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ छन् ।

यस्तै, सदस्यहरूमा अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनीष जोशी, रमेश व्यन्जनकार, पेमाडोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठौर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट र टीका लामा छन् ।

यस्तै, नेम्वाङको प्यानलमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशी छन् ।

सदस्यहरूमा महेन्द्र क्षेत्री, नेपाल कार्की, नीरज खड्गी, विजय घले, मुखिया लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकासनारायण श्रेष्ठ, रवीन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।

यसैगरी तेस्रो धार पौड्यालको प्व्यानलबाट सदस्यहरूमा मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल उठेका छन् ।

वर्तमान अध्यक्ष कांग्रेसनिकट मानिन्छन् भने नेम्वाङ पूर्वअध्यक्ष गणे थापा नजिकका उम्मेदवार हुन् ।

पौड्याल पक्षले भने स्वतन्त्र उम्मेदवारी दिएको बताएको छ ।