NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

तनहुँका अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति

दमौली । तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार २१ औषधि पसलमा अनुगमन गरिएको थियो ।

उनले भने, “औषधि पसलमा फार्मेसी पढेका र अनुमतिपत्र प्राप्त व्यक्तिमात्र बसेर औषधि बिक्री गर्न पाउँछन् । तर सञ्चालनमा रहेको अधिकांश औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति भेटिएनन् ।” त्यस्तै अनुगमनका क्रममा अधिकांश औषधि पसल नगरपालिकामा दर्ता नभएको समेत भेटिएको उनले बताए ।

अनुगमन टोलीले वेदान्त मेडिकल, आयु औषधि पसल, युनिक फर्मा, सिटी मेडिकल, विजय मेडिकल, पाण्डे फार्मेसी, स्टार पारस मेडिकल, मिर्लुङ मेडिकल हल, ऋषि फार्मेसी, निष्ठा फार्मेसी, श्रेया फार्मेसी, राकु मेडिकल सेन्टर, राना मेडिकल हल, कृष्ण मेडिकल फर्मा, शीतल आयुर्वेद फर्मा, मित्रता फार्मेसी, हेल्थ केयर फार्मेसी, तनहुँ डेन्टल फार्मेसी, थापा मेडिकल हल र मिश्र मेडिकल हलमा अनुगमन गरेको थियो ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार फार्मेसी पढेका व्यक्तिले अनुमतिपत्र लिएर भाडामा दिने गरेको जनाइएको छ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फार्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर अनुमतिपत्र भाडामा लगाउने र फार्मेसी पढेका प्राविधिक अन्यत्र काम गर्ने गरेको भेटिएको उनको भनाइ छ । अनुगमन टोलीले केही औषधि पसलबाट म्याद सकिएका औषधिसमेत जफत गरेको जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष