डा. चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज, एक साता भेटघाट नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका भण्डारीको कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र शरिरको पछाडिको भागको शल्यक्रिया गरिएको हो ।
डा. भण्डारी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिए । शल्यक्रियापछि डा भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चिकित्सकले बाहिर सङ्क्रमणबाट जोगिनका लागि २ सातसम्म अन्य व्यक्तिको सम्पर्कमा नआउनसमेत सुझाएका छन् ।
चिकित्सकको सल्लाहअनुसार डा. भण्डारी एक साता घरमा आराम गर्ने छन् । यसबीचमा उनले कार्यकर्ता भेटघाट नगर्ने जनाइएको छ ।
उनको शल्यक्रियालागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएका थिए । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएका हुन् ।
डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गरेको हो ।
गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।
भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो ।
प्रतिक्रिया