NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

डेङ्गी रोकथामका लागि कार्कीले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेङ्गी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्नुहुँदै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग मुलुकभर फैलिएको र आतङ्क सिर्जना गरेको बताए ।

अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेङ्गीको सङ्क्रमण पुष्टि हुने गरेको उनको भनाइ छ ।

‘अहिले डेङ्गी रोगले देशभर आतङ्क सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु’, कार्कीले भने, ‘जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस् ।’

औषधि र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेको बारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गराए ।

अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेङ्गी रोगीका सङ्क्रमित रहेको र त्यहाँ डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।