NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नियमित खोपले बाल मृत्युदर शून्य

कञ्चनपुर । शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफाटा नगरपालिकामा बाल मृत्युदर शून्यमा झरेको छ ।

खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । खोप पाएका बालबालिकामा सुस्त विकास र विकलाङ्गताका समस्या हटेका छन् । गर्भमा रहेको ४२ दिन र जन्मिएको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको संख्या शून्य छ ।

नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्टका अनुसार खोप वितरण प्रणालीलाई सुदृढिकरण गरी सेवालाई दीगो रुपमा विस्तार गरिएपछि बाल मृत्युको समस्या हटदै गएको हो ।

‘बाल मातृ मृत्युदर शून्यमा झार्नमा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘नियमित खोप कार्यक्रमको प्रभावकारिता उहाँहरुकै कारणले भएको छ, खोपकै कारण बालबालिकाको जीवन रक्षा गरी औसत आयुमा वृद्धि भएको छ ।’

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप लगाइने गरिन्छ । उनका अनुसार २३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिकाको संख्या आठ सय ६८ छ ।

‘खोप लगाउने कामलाई निरन्तररुपमा अगाडि बढाउँदै आएका छौँं’, नगरपालिकाका स्वास्थ्य शाखका प्रमुख भट्टले भने, ‘दसैं बिदाका बेला पनि खोप लगाएका छौँ ।’

खोपसँगै केन्द्रमा पुग्ने आमाहरुलाई स्वास्थ्य प्रवर्द्धन अन्तर्गतका सरसफाइ, पोषण, खोपका फाइदालगायतका बारेमा छलफल कार्यक्रम गरी सचेत पार्ने काम भइरहेको छ ।

‘बसाइँ सारेर आएकाहरुको खोजी गरी खोप लगाउने उमेरका बालबालिकालाई खोप लगाउने काम पनि भइरहेको छ’, उनले भने, ‘सरकारको प्राथमिकतामा रहेको खोप कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको सबैभन्दा सफल कार्यक्रम हो ।