NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विश्वकप फाइनलमा भारतको कमजोर ब्याटीङ, अष्ट्रेलियालाई सहज लक्ष्य

काठमाडौं । एकदिवसिय क्रिकेट विश्वकपको फाइनलमा भारतले कमजोर ब्याटीङ गरेको छ । भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

पूरै ओभर खेलेको भारतले ५० ओभरमा २४० रन बनाएर सबै विकेट गुमाएको हो ।

सुरुवाती ब्याटीङ आक्रामक गरेको भारतका दुई मुख्य ब्याट्सम्यान आउट भएपछि उसको ब्याटीङमा सुधार हुन सकेन ।
सुरुको १० ओभरमा भारतले एक विकेट ८० रन बनाएको थियो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतक तथा रोहित शर्माले ४७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

भारतका राहुलले एक सय ७ बलमा सर्वाधिक ६६ रन बनाए । उनले मात्र एक चौका हिर्काए । तेस्रो नम्बरमा क्रिजमा आएका विराट कोहलीले ६३ बलमा चार चौकासहित ५४ रनको योगदान गरे ।

ओपनर रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर आउट भए । चार चौका र तीन छक्का हिर्काएका रोहितलाई ग्लेन म्याक्स्वेलले ट्राभिस हेडबाट क्याच आउट गराए । भारतका लागि सूर्यकुमार यादवले १८ रनको योगदान गरे।

अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५ रन खर्चदै तीन विकेट लिए । कप्तान प्याट कमिन्स र जस हेजलवुडले समान दुई विकेट लिए ।

भारत घरेलु मैदानमा तेस्रो पटक विश्वकप उचाल्ने दाउमा छ । अस्ट्रेलिया कीर्तिमानी छैटौं पटक उपाधि जित्ने लक्ष्यमा छ ।

भारतले यसअघि १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। सुरुवाती दुई खेल हारेको अस्ट्रेलिया त्यसपछिका आठ खेलमा अपराजित छ ।