NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बास्केटबल कोर्टमा कराते

दमौली । सामान्यतया कराते खेल कभर्ड हलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्ड हलमा सहज हुन्छ तर तनहुँमा अवस्था त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।

कभर्ड हलको अभावमा नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा करातेका छनोट प्रतियोगिता गरेको छ । हैरान्स क्लबले निर्माण गरेको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका नौवटा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

पूर्वाधार अभावका कारण बास्केटबल कोर्टमा करातेको प्रतियोगिता आयोजना गर्नुपरेको नेपाल कराते महासङ्घ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए । कभर्डहल नहुँदा बास्केटबल कोर्टमा भए पनि खेल खेलाएर खेलाडी छनोट गरिएको उनले बताए ।

उनले भने, “जिल्लामा एउटा पनि कभर्ड हल छैन । कभर्ड हल नहुँदा कहिले खुला चौरमा त कहिले बास्केटबल कोर्टमा खेल खेलाउनुपर्ने बाध्यता छ । खेल क्षेत्रको विकासका लागि सरोकारवाला निकायले चासो नदिँदा समस्या भइरहेको छ ।”

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सङ्घीयतापछि तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पनि खेल क्षेत्रको भावना बुझ्न नसकेको गुनासो गरे । उनले भने, “पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ । तनहुँमा खेलकुदका गतिविधि धेरै हुने गरे पनि पूर्वाधारकै कमी छ ।”

कराते खेलाडी तनहुँका मनिषा पुनले पूर्वाधार निर्माण भइदिए खेल्न सहज हुने बताए । उनले भने, “हामी देशका लागि खेल्छौं । देशले हाम्रा लागि पूर्वाधार बनाइदिनुपर्छ ।”

यसैबीच, यही माघ १८ गतेदेखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी चयन गरिएको छ ।

नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशको तर्फबाट खेलाडी छनोट गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिए ।

विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उनले बताए । उनका अनुसार महिला र पुरुष गरी कुल २० खेलाडी छनोट गरिएको छ ।